इटहरी । युवा समाजसेवी तथा किप इटहरी क्लिन (KIC) का अभियन्ता पुष्कर थापाको पहिलो साहित्यिक कृति ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ।

संगीत साधना प्रतिष्ठान नेपालको सभाहलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सृष्टि भट्टराईको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षतामा कृति लोकार्पण गरिएको हो। वरिष्ठ कवि मनु मञ्जिल र रेग्मीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए।

संगीत साधना प्रतिष्ठान नेपालको आयोजना तथा किप इटहरी क्लिन (KIC) को सहआयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिल, कवि तथा लेखक टीका आत्रेय र समीक्षक राम खरेलले कृतिबारे चर्चा गरेका थिए। उनीहरूले पुस्तकमा समेटिएका विषयवस्तु र लेखकको सिर्जनात्मक प्रयासको चर्चा गर्दै थापाको आगामी साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गरे।

कार्यक्रममा सञ्चारकर्मी हिमाल दाहालले लेखक थापासँग पुस्तक लेखनको पृष्ठभूमि, सिर्जनात्मक प्रक्रिया र कृतिको विषयवस्तुबारे संवाद गरेका थिए। प्रतिष्ठानका महासचिव राजु केसीले स्वागत मन्तव्य राखेको कार्यक्रम नाट्यकर्मी सोनु जयन्तीले सञ्चालन गरेकी थिइन्।

जीवनका भोगाइ, सामाजिक यथार्थ र अनुत्तरित प्रश्नहरूलाई समेटिएको ‘प्रश्न अझै बाँकी छ’ ले पाठकलाई जीवन र समाजका विविध पक्षलाई फरक दृष्टिकोणबाट बुझ्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

थापाको पहिलो साहित्यिक कृतिको प्रकाशनलाई उनको साहित्यिक यात्राको सुरुवातका रूपमा हेरिएको छ।

IMG-20261016-WA0034