इटहरी। रोङ गाउँपालिकाको प्राकृतिक सौन्दर्य, संस्कृति, मौलिक जीवनशैली र इतिहासलाई चित्रकलामार्फत राष्ट्रियस्तरमा चिनाउन ‘रोङनेसन्स–रोङदेखि रङसम्म’ चित्रकला योजना अघि सारिएको छ।
रोङ गाउँपालिका–६ ले देही आर्ट ग्यालरी एन्ड एल्मामेटरसँगको सहकार्यमा रोङको मौलिकता चित्रमा उतार्न लागेको हो। रोङको प्राकृतिक तथा सांस्कृतिक पहिचानलाई अनुसन्धान, स्थलगत अध्ययन र समकालीन चित्रकलामार्फत अभिलेखीकरण गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको वडाध्यक्ष सत्यम राई चौरासेले बताए। रोङका प्राकृतिक दृश्य मात्रै नभई त्यहाँका मानिस, संस्कृति, स्मृति, मिथक, परम्परा, स्थानीय ज्ञान र बदलिँदो ग्रामीण जीवनलाई समेत चित्रमार्फत दस्तावेज बनाइने उनको भनाइ छ।
तयार हुने चित्रलाई कलाकृतिमा मात्र सीमित नराखी रोङको सामाजिक तथा सांस्कृतिक इतिहास बोकेका दृश्य अभिलेखका रूपमा विकास गर्ने लक्ष्य राखिएको चौरासेले बताए। देही आर्ट ग्यालरी एन्ड एल्मामेटरसँग आबद्ध १४ जना कलाकारले स्थलगत अध्ययन तथा स्थानीय समुदायबाट संकलित कथा, अनुभव, दृश्य र सूचनाका आधारमा मौलिक चित्र सिर्जना गर्नेछन्। त्यसअघि चार सदस्यीय अनुसन्धान टोलीले चार दिनसम्म रोङ गाउँपालिका–६ का विभिन्न क्षेत्रमा स्थलगत अध्ययन गर्नेछ। टोलीले स्थानीय समुदाय, ज्येष्ठ नागरिक, बुद्धिजीवी, पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दासँग संवाद गरी आवश्यक सामग्री संकलन गर्नेछ।
फोटोग्राफी, अन्तर्वार्ता, मौखिक इतिहास संकलन, दृश्य अभिलेखीकरण तथा सांस्कृतिक अध्ययनबाट प्राप्त सामग्रीलाई विषयगत रूपमा वर्गीकरण गरी कलाकारले रोङको वास्तविक जीवन र पहिचानलाई समकालीन चित्रकलामा उतार्ने वडाध्यक्ष चौरासेले बताए। रोङका विभिन्न प्राकृतिक तथा सांस्कृतिक गन्तव्यलाई अनुसन्धानको मुख्य क्षेत्र बनाइएको छ। जिर्मले बहुसांस्कृतिक पार्क, जिर्मले सांस्कृतिक सर्किट, झण्डीडाँडा, करसोङ पदमार्ग, सलकपुर, किराँतपार्क र देवनछापलगायतका क्षेत्रलाई अध्ययन तथा चित्र सिर्जनाको आधार बनाइनेछ। अनुसन्धानमा प्राकृतिक भू–दृश्य, पहाड, डाँडा, वन, कृषि क्षेत्र, जैविक विविधता, पदमार्ग, सूर्योदय तथा सूर्यास्तका दृश्यदेखि स्थानीय भौगोलिक विशेषता र प्राकृतिक स्रोतसँग जोडिएको जीवनशैलीसम्मलाई समेटिनेछ।
रोङ–६ को सांस्कृतिक पहिचानअन्तर्गत स्थानीय जातजाति, विशेषगरी लेप्चा समुदायको इतिहास, पहिचान, भाषा, बोली, परम्परागत पोशाक, सामाजिक संरचना र सामुदायिक सम्बन्धलाई समेत अनुसन्धानको विषय बनाइएको छ। त्यस्तै, स्थानीय संस्कार, चाडपर्व, जात्रा, धार्मिक तथा सांस्कृतिक अभ्यास, खानपान, कृषि तथा पशुपालन, स्थानीय सीप, हस्तकला, घरबस्ती र ग्रामीण जीवनशैलीलाई पनि परियोजनाले समेट्ने चौरासेले बताए। स्थानीय ज्येष्ठ नागरिक तथा परम्परागत ज्ञानका वाहकसँग संवाद गरी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएका लोककथा, मिथक, किंवदन्ती, ऐतिहासिक घटनाका मौखिक विवरण तथा पुराना स्थान र स्थलनामसँग जोडिएका कथा संकलन गर्ने योजना छ। परियोजनाले रोङको विगतसँगै वर्तमानमा भइरहेको परिवर्तनलाई समेत समेट्नेछ।
परम्परागत जीवनशैलीमा आएको परिवर्तन, युवा पुस्ताको जीवन, वैदेशिक रोजगारी तथा बसाइँसराइको प्रभाव, शिक्षा र प्रविधिको प्रभाव तथा गाउँमा भइरहेको विकासलाई अनुसन्धानको विषय बनाइनेछ। यस क्रममा पुरानो र नयाँ जीवनशैलीबीचको सम्बन्ध तथा ग्रामीण समाजमा भइरहेको परिवर्तनलाई कलाकारले आफ्नै सिर्जनात्मक दृष्टिकोणबाट चित्रमा प्रस्तुत गर्नेछन्। रोङका प्रमुख पर्यटकीय गन्तव्यसँगै होमस्टे, ग्रामीण पर्यटन, कृषि पर्यटन, सांस्कृतिक पर्यटन, पदमार्ग तथा साइकल पर्यटनको सम्भावनालाई चित्रमार्फत उजागर गरिनेछ। स्थानीय उत्पादन र पर्यटनबीचको सम्बन्ध, पर्यटन विकासका सम्भावना तथा चुनौतीलाई समेत चित्रमा समेटिनेछ। भविष्यमा रोङलाई प्राकृतिक दृश्यावलोकनमा मात्र सीमित नराखी स्थानीय मानिस, संस्कृति, खानपान, कथा, परम्परा र जीवनशैलीसँग जोडिएको अनुभवमा आधारित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य रहेको छ।
स्थानीय रैथाने उत्पादनलाई पर्यटन प्रवर्द्धनसँग जोड्ने योजना पनि छ। गुन्द्रुक, सिस्नो, स्थानीय चिया, सुन्तला तथा अन्य कृषि उत्पादन, स्थानीय हस्तकला र मौलिक उत्पादनलाई रोङको ग्रामीण जीवन र पर्यटनसँग जोडेर प्रचार गरिनेछ। यसबाट स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै पर्यटनसँग जोडिएको स्थानीय अर्थतन्त्रलाई प्रोत्साहन पुग्ने अपेक्षा गरिएको छ। रोङमा सिर्जना गरिएका मौलिक चित्रलाई नेपाल कला परिषद्को प्रदर्शनी कक्षमा प्रदर्शन गरिने वडाध्यक्ष चौरासेले बताए। प्रदर्शनीमा रोङका प्राकृतिक दृश्यसँगै स्थानीय जीवन, संस्कृति, समुदाय, मिथक, परम्परा, कृषि, पर्यटन र स्थानीय उत्पादनलाई चित्रमार्फत प्रस्तुत गरिनेछ।
यसबाट काठमाडौंका कलाकार, अनुसन्धानकर्ता, सञ्चारकर्मी, पर्यटन व्यवसायी, उद्यमी, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणसम्म रोङको पहिचान पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ। चौरासेका अनुसार रोङमा असोज ३० र ३१ गते, बिर्तामोडमा मंसिरको पहिलो साता र काठमाडौंमा पुस महिनाभित्र प्रदर्शनी गर्ने योजना छ। रोङका पर्यटकीय गन्तव्य, अनुसन्धान, चित्रकला तथा स्थानीय उत्पादन समेटिएको २४ पृष्ठको पुस्तकसमेत प्रकाशन गरिनेछ। यसका साथै पोस्टर, फ्लेक्स, फोटोग्राफी, भिडियोग्राफी, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत परियोजनाको प्रचारप्रसार गरिनेछ। कार्यक्रमको अनुमानित लागत २ लाख ५८ हजार रुपैयाँ रहेको छ।


