संखुवासभा । संखुवासभाको मादी नगरपालिका–३, मूलखर्कमा प्रथम मझिया स्मृति कप–२०८३ आमन्त्रित ९-ए साइड महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय मझिया मानबहादुर जिमीको स्मृतिमा आयोजना हुन लागेको प्रतियोगिता कार्तिक ८ गतेदेखि १३ गतेसम्म मूलखर्क खेल मैदानमा सञ्चालन हुनेछ ।

मझिया मानबहादुर जिमी स्मृति प्रतिष्ठानको आयोजनामा तथा हाङ्थुम क्लबको सह-आयोजनामा हुने प्रतियोगितामा विभिन्न जिल्लाका आठ महिला फुटबल टोली सहभागी हुनेछन्। प्रतियोगितामार्फत महिला फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा खेलकुदका माध्यमबाट मादी क्षेत्रको पहिचान स्थापित गर्ने लक्ष्य आयोजकले लिएको छ । प्रतिष्ठानका अध्यक्ष रामकुमार जिमी स्वर्गीय मझिया मानबहादुर जिमीका छोरा हुन् । उहाँका अनुसार प्रतियोगिताले स्थानीय क्षेत्रमा फुटबल खेलको विकासलाई थप गति दिनुका साथै महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

विजेतालाई ३ लाख, उपविजेतालाई डेढ लाख


प्रतियोगिताको विजेता टोलीले तीन लाख रुपैयाँ र उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २१ हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई १० हजार रुपैयाँ र उत्कृष्ट गोलरक्षकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।  त्यसैगरी, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई म्यान अफ द म्याचबापत पाँच हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

आठ टोलीबीच प्रतिस्पर्धा, यस्तो छ खेल तालिका


प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल कार्तिक ८ गते दिउँसो १२ः३० बजे रेवाहाङ फेयर फुटबल क्लब महिला टिम, धरान र मावादिन युवा समाज विकास केन्द्र, मादी, संखुवासभाबीच हुनेछ । कार्तिक ९ गते दिउँसो १ बजे पदमा स्पोट्र्स क्लब, ओखलढुङ्गा र बेलबारी फुटबल क्लब, मोरङबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, कार्तिक १० गते दिउँसो १ बजे फेदाप गाउँपालिका पोक्लावाङ, तेह्रथुम र डीवाईसी सागुँरीगढी, भेडेटार, धनकुटाबीच खेल हुनेछ । कार्तिक ११ गते दिउँसो १ बजे सातदोबाटो युथ क्लब, ललितपुर र ओएसिस क्लब, इलामबीच अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल कार्तिक १२ गते दिउँसो १२ बजे र दोस्रो सेमिफाइनल सोही दिन दिउँसो २ः३० बजे हुनेछ । फाइनल खेल कार्तिक १३ गते दिउँसो १ः३० बजे सञ्चालन हुने आयोजकले जनाएको छ ।

827943826_1650075727131108_5130860180978955902_n


मझिया मानबहादुर जिमीको योगदानको स्मरण


स्थानीय क्षेत्रमा फुटबल खेलको विकासको जग बसाल्न स्वर्गीय मानबहादुर जिमी ‘मझिया’ले महत्वपूर्ण योगदान पु¥याएका थिए । उहाँकै पहलमा स्थानीयवासीको श्रमदानबाट मूलखर्कमा खेल मैदान निर्माणको काम सुरु गरिएको थियो । त्यसपछि हाङ्थुम क्लबले उक्त मैदानलाई केन्द्र बनाएर फुटबल खेलको विकास, आधुनिकीकरण तथा खेलाडीको व्यावसायिकीकरण गर्ने उद्देश्यले २०३५ सालदेखि निरन्तर विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । स्वर्गीय जिमीको जीवन, योगदान र व्यक्तित्व समेटिएको स्मृति ग्रन्थ प्रकाशनका लागि पनि काम अघि बढाइएको छ । यसका लागि २०८३ भदौ ७ गते दुर्गामणि देवानको अध्यक्षतामा समिति गठन गरिएको थियो । महिला फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन तथा मूलखर्कको खेलकुद पहिचान स्थापित गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ र ‘मूलखर्कको पहिचान, फुटबल विकासको अभियान’ भन्ने नारासहित प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

785837015_1616985363773478_3825541037664782149_n