इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–२, बसन्तपुर बजारमा ५ करोड रुपैयाँभन्दा बढीको लागतमा शीतभण्डार भवन निर्माण सुरु भएको छ ।
नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेको भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो । शिलान्यास कार्यक्रममा प्रथम सचिव देवले नेपाल–भारत विकास सहकार्य अन्तर्गतका परियोजनाले स्थानीय समुदायको आवश्यकता सम्बोधन गर्दै विकासमा योगदान पु¥याउने बताउनुभयो ।
कृषि क्षेत्रको विकास र स्थानीय नागरिकको आर्थिक अवस्था सुधारमा यस्ता पूर्वाधार उपयोगी हुने उहाँको भनाइ थियो । नगर प्रमुख अर्जुन माबोहाङले शीतभण्डार निर्माण सम्पन्न भएपछि किसानलाई कृषि उपज सुरक्षित राख्न र बजारको माग अनुसार बिक्री गर्न सहज हुने बताउनुभयो । यस्तै, कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले भारत सरकारको सहयोगले जिल्लाको कृषि क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । आलु, फलफूल तथा बेमौसमी तरकारी उत्पादनका लागि उर्वर क्षेत्र मानिने लालीगुराँस नगरपालिकामा भण्डारण सुविधाको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन कठिनाइ भोग्दै आएका छन् । शीतभण्डार सञ्चालनमा आएपछि कृषि उपज सुरक्षित राखेर उपयुक्त समयमा बजारमा बिक्री गर्न सहज हुने अपेक्षा गरिएको छ ।
भारतीय राजदूतावासको ५ करोड २ लाख २१ हजार ५ सय ८९ रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको शीतभण्डारको जिम्मा मोरङको शसिधर निर्माण सेवा एण्ड कट्टेल सप्लायर्सले पाएको छ । निर्माण कम्पनीले आगामी १५ महिनाभित्र भवन निर्माण सम्पन्न गर्नुपर्नेछ । शीतभण्डार सञ्चालनमा आएपछि किसानको आम्दानी वृद्धि तथा स्थानीय कृषि व्यवसायको प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


