इटहरी। धनकुटा नगरपालिका –९, स्थित छिम्सुवाका कृषक किशोर भण्डारीले ड्रागनफ्रुट खेतीसँगै कृषि पेशाबाट बार्षिक १५ लाख रुपियाँभन्दा बढीको अम्दानी गर्दै आउनुभएको छ ।
ड्रागनफ्रुट खेतीसँगै अन्य नगदेबालीको विस्तार गरेपछि भण्डारीले कृषि पेशाबाट राम्रो आम्दानी गर्दै आउनुभएको हो । छिम्सुवामा पर्ने तमोर नदीको बगरमा बालुवा नै बालुवा भएको जमिनमा कुनै बेला खेती गर्न मुस्किल थियो । अहिले यही बगरमा ड्रागनफ्रुट खेती विस्तार लहरै देखिन्छन् । सुख्खा र बलौटे जमिनमा पनि राम्रो उत्पादन लिन सकिने भएपछि धनकुटामा ड्रागनफ्रुट खेती विस्तार हुँदैगएको छ । त्यसो त धनकुटामा तमोर नदीको बगरदेखि घरका छतसम्म किसानले ड्रागन लगाउन थालेका छन् ।
उहाँले करिब तीन वर्षअघि कबिर पाँच रोपनी क्षेत्रफलको बगरमा ड्रागन खेती सुरु गर्नुभयो । अन्य बालीका लागि उपयुक्त नदेखिएको जमिनमा ड्रागन राम्रो उत्पादन दिन थालेपछि ड्रागन खेती विस्तार गरेको भण्डारीले बताउनुभयो । उहाँले गरमा ड्रागनफ्रुट खेतीसँगै अहिले टमाटर र हाइब्रिड बयरको खेतीसमेत गर्नुभएको छ । उत्पादन र बजारको सम्भावना बढेपछि ड्रागन खेती पनि विस्तार गरेको र अन्य तरकारी खेती पनि विस्तार गर्दै लगेको बताउनुभयो । भण्डारीले पछिल्लो समय युएनडिपीको आर्थिक तथा पर्डेप नेपालको प्राविधिक सहयोगमा सिँचाइका लागि पोखरी तथा केरा खेती पनि सुरु गर्नुभएको छ ।
त्यसो त व्यावसायिक खेतीबाट केही स्थानीय युवालाई रोजगारीसमेत दिइएको उहाँले बताउनुभयो । धनकुटामा पछिल्लो समय सुख्खाग्रस्त तथा कम पानी हुने क्षेत्रमा पनि ड्रागन खेती लगाउने किसान बढेका छन् । जिल्लाको धनकुटा नगरपालिका र साँगुरीगढी गाउँपालिकाका विभिन्न क्षेत्रमा यसको खेती विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र राना मगरले बताउनुभयो । उहाँका अनुसार ज्ञान केन्द्रले व्यावसायिक खेती गर्ने किसानलाई पहिले अनुदानका कार्यक्रम सञ्चालन गरेको अहिले आवश्यक विशेषज्ञ सेवा दिँदै आएको बताउनुभयो ।
ड्रागन फल रोपेको करिब एक वर्षपछि उत्पादन दिन थाल्ने भएकाले कृषक यसको खेतीतर्फ आकर्षित हुने थालेको पाइन्छ । एउटा वयस्क बिरुवाबाट एक सिजनमा न्यूनतम २० केजीसम्म फल उत्पादन हुने कृषक भण्डारी बताउनुहुन्छ । क्याक्टस प्रजातिमा पर्ने ड्रागन विभिन्न प्रकारका खनिज तथा भिटामिन पाइन्छ । फललाई प्रशोधन गरेर जेली, जाम, जुस, वाइन तथा आइसक्रिम लगायतका सामग्रीसमेत बनाउने गरेको पाइन्छ ।


