इटहरी। दसैँ नजिकिएसँगै जिल्ला प्रशासन कार्यालयले धनकुटामा बजार अनुगमनालाई प्रभावकारी बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उपभोक्ता मञ्च लगायतको संयुक्त टोलीले अनुगमनलाई प्रभावकारी बनाएको हो । जिल्लाका विभिन्न स्थानमा सञ्चालित होटल, मासु पसल, किराना तथा खुद्रा पसलहरूका छड्के बजार अनुगमन गरिएको थियो । यस्तै धनकुटाको पाख्रीबास बजार, धनकुटा बजार, साँगुरीगढी गाउँपालिकाको केन्द्र भेडेटार र छथर जोरपाटी गाउँपालिकास्थित सिधुवा बजारमा अनुगमन गरिएको थियो ।

अनुगमनका क्रममा होटल तथा पसलहरूबाट विभिन्न म्याद गुज्रिएका अखाद्य सामग्री भेटिएको थियो । म्याद गुज्रिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको प्रशासनले जनाएको छ । अनुगमनका क्रममा जफत गरिएको ३६ हजार १७८ रपियाँ बराबरको अखाद्य सामग्री नष्ट गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुगमनका क्रममा होटल तथा पसहरूलाई ३० हजार रुपियाँ बराबरको जरिवानासमेत गरिएको छ । अनुगमनका क्रममा किराना पसलहरू दर्ता नगरी सञ्चालन भएका व्यवसायलाई दर्ता गरेर मात्र सञ्चालन गर्न सुझाव दिइएको छ । सामान राख्दा हेरेर मात्रै राख्न तथा उपभोक्तालाई बेच्न आग्रह गरिएको थियो । म्याद गुज्रिएका खाद्यवस्तु भेटिएका पसलहरूलाई आगामी दिनमा पुनः यस्तो गल्ती नदोहो¥याउन अनुगमन टोलीले चेतावनीसमेत दिएको छ । दसैँ, तिहारलक्षित बजार अनगुमनलाई थप प्रभावकारी बनाइने प्रशासनले जनाएको छ ।