इटहरी। नेपालीहरूको महान् पर्व दसैँ र दीपावली नजिकिएसँगै सुनसरीको इनरुवा नगरपालिकासहित विभिन्न स्थानका कुम्हार ९पण्डित० समुदायलाई माटोको दियो र भाँडाकुँडा बनाउन चटारो भएको छ ।
दीपावलीका बेला बजारमा आधुनिक विद्युतीय सामग्रीहरूको प्रयोग बढे तापनि मधेसमा माटोको दियोको धार्मिक तथा सांस्कृतिक महत्त्व उत्तिकै रहेकाले यसको माग उच्च हुने गरेकाले माटोको दियो र भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको हो । इनरुवा नगरपालिका–२ का ५० भन्दा बढी परिवारले अहिले दिनरात नभनी माटोको दियो र भाँडाकुँडा बनाउन व्यस्त भएको स्थानीय ज्ञानदेव पण्डितले बताउनुभयो ।
मधेसी समुदायमा दीपावलीका समयमा माटोको दियो नै बाल्ने परम्परा रहेकाले यतिबेला इनरुवा–२ का रामनारायण पण्डित, प्रमोद पण्डित, शर्मिला पण्डित र कुशेश्वर पण्डित लगायतका स्थानीयहरू दिनभरि नै माटो मुछ्ने र दियोलाई आकार दिन व्यस्त बनेका छन् ।स्थानीय शिक्षक प्रमोद पण्डितका अनुसार कुम्हार समुदायका दर्जनभन्दा बढी परिवारहरू अचेल रातको २ बजेदेखि नै उठेर दिनभर यो काममा जुट्ने गरेका छन् । यस सिजनमा एकै परिवारले १ लाखदेखि ५ लाख वटासम्म दियो तयार पार्ने लक्ष्य राखेका छन् भने यसबाट प्रतिपरिवार कम्तिमा १ लाखदेखि ३ लाख रूपियाँसम्म आम्दानी हुने अपेक्षा गरिएको छ ।
तयार पारिएका दियोहरू लिन कतिपय ग्राहक तथा व्यापारीहरू घरमै पुग्ने गरेका छन् भने कतिपयले स्थानीय हटिया तथा बजारहरूमा लगेर बिक्री गर्ने स्थानीय पिङ्की पण्डितले बताउनुभयो । आधुनिकताको प्रभावकाबिच पनि परम्परागत माटोको दियोको माग कायमै रहँदा स्थानीय कुम्हार समुदायमा उत्साह छाएको उहाँको भनाइ छ ।


