इटहरी। विराटनगर महानगरपालिका–१० तिनटोलियास्थित माटस बोर्डिङ स्कुलमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
बिहीबार बिहान करिब ४ बजे विद्युत् तार सर्ट भएर विद्यालयमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्यालयका सञ्चालक सीएम श्रेष्ठका अनुसार आगलागीबाट कार्यालय र विज्ञान प्रयोगशालामा रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन् ।
आगलागीको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । विराटनगर महानगरपालिकाको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट विद्यालयको कार्यालयमा रहेका दुई थान कम्प्युटर, एक थान प्रिन्टर, एक थान स्टेप्लाइजर र दुई थान कुर्सी जलेर नष्ट भएको सञ्चालक श्रेष्ठले बताए । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको उनले बताए ।


