इटहरी स्  झापाको बिर्तामोड नगरपालिकाले करारमा कार्यरत नौ जना सवारी चालकको करार सम्झौता नवीकरण नगरेपछि उनीहरूले पुनर्बहालीको माग गरेका छन्। चाडपर्वको मुखमा आफूहरूलाई मात्रै सेवाबाट हटाइएको भन्दै चालकहरूले नगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाएका हुन्।

नगरपालिकाले मदन आचार्य, महेन्द्र घिमिरे, विमल न्यौपाने, कुलप्रसाद राना मगर, शेरबहादुर मेचे, गणेश तिम्सिना, गंगा उप्रेती, शशिविक्रम भट्टराई र कमल सार्कीलाई कात्तिक १ गतेदेखि लागू हुने गरी सेवाबाट हटाएको हो। नगरपालिकाको दोस्रो नगरसभाको नवौँ अधिवेशनअन्तर्गत गत असार २८ गते सम्पन्न बैठकले करारमा कार्यरत सवारी चालकको अवधि असोज मसान्तसम्म कायम रहने निर्णय गरेको थियो। सोही निर्णयअनुसार करार सम्झौता थप नगरिने जानकारी प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले सम्बन्धित चालकलाई पठाएको पत्रमा उल्लेख छ।

नगरपालिकाको निर्णयप्रति असन्तुष्टि जनाउँदै निष्कासित चालकहरूले प्रमुख प्रशासकीय अधिकृत राईलाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उनीहरूले २०७४र७५ मा नगरपालिकाले विज्ञापन खुलाएर प्रतिस्पर्धाका आधारमा आफूहरूलाई नियुक्त गरेको र त्यसयता २०८३ सालसम्म निरन्तर सेवा प्रदान गर्दै आएको उल्लेख गरेका छन्। लामो समयसम्म सेवा गरे पनि करार भंग गर्नुको स्पष्ट कारण नखुलाई आफूहरूलाई हटाइएको उनीहरूको गुनासो छ। करारमा कार्यरत चालकहरूमध्ये नौ जनाको मात्रै सम्झौता नवीकरण नगर्नु र अन्य चालकलाई भने निरन्तरता दिनुले आफूहरूमाथि विभेद भएको उनीहरूको आरोप छ।

चालकहरूका अनुसार करारमा कार्यरत अन्य छ जनाको सम्झौता २०८४ असारसम्मका लागि थप गरिएको छ। कार्यविधि नबनाई आफूहरूलाई मात्रै सेवाबाट हटाउने निर्णय अन्यायपूर्ण भएको उनीहरूको भनाइ छ। ध्यानाकर्षण पत्रमार्फत निर्णयमा पुनर्विचार गरी पुनर्बहाली गर्न माग गरेका चालकहरूले माग सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। उनीहरूले असोज २९ गतेदेखि आन्दोलन सुरु गर्ने चेतावनीसमेत दिएका थिए। नगरपालिकाले भने नगरसभाको निर्णयअनुसार करार अवधि थप नगरेको जनाएको छ। चालकहरूले उठाएका विभेद र पुनर्बहालीसम्बन्धी मागबारे नगरपालिकाको थप धारणा सार्वजनिक भएको छैन।