इटहरी स् प्रहरी र स्थानीय तहले लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन गर्दै आए पनि सुनसरीको धरानमा यसको प्रयोग तथा कारोबार चुनौतीका रूपमा देखिएको छ। इलाका प्रहरी कार्यालय धरानमा पछिल्ला तीन आर्थिक वर्षमा दर्ता भएका मुद्दामध्ये लागूऔषधसम्बन्धी मुद्दा सबैभन्दा बढी छन्।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८१र८२ देखि चालु आर्थिक वर्ष २०८३र८४ को असोजसम्म विभिन्न कसुरका एक हजार १७२ मुद्दा दर्ता भएका छन्। तीमध्ये लागूऔषधसम्बन्धी मात्रै ४०६ मुद्दा छन्। इलाका प्रहरी कार्यालय धरानका प्रमुख भीषणबाबु राईका अनुसार आर्थिक वर्ष २०८१र८२ मा विभिन्न कसुरका ५१७ मुद्दा दर्ता भएका थिए। उक्त अवधिमा ५८१ पुरुष र ६८ महिलालाई प्रहरीले पक्राउ गरेको थियो।
त्यस्तै, आर्थिक वर्ष २०८२र८३ मा ४९४ मुद्दा दर्ता हुँदा ५०९ पुरुष र ४७ महिला पक्राउ परेका थिए। चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि असोजसम्म १६१ मुद्दा दर्ता भएका छन्। यस अवधिमा १०३ पुरुष र आठ महिलासहित १११ जना पक्राउ परेको प्रमुख राईले जानकारी दिए। लागूऔषधबाहेक अभद्र व्यवहार, बैंकिङ कसुर, कर्तव्य ज्यान, चोरी, बहुविवाह, भवितव्य ज्यान र जबर्जस्ती करणीका घटनामा पनि मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार लागूऔषधको प्रयोग तथा कारोबारमा ज्याला मजदुरी गर्ने र बेरोजगार युवाको संलग्नता बढी देखिएको छ। उमेर समूहका आधारमा १५ देखि ५५ वर्षसम्मका व्यक्ति बढी संलग्न रहेको पाइएको प्रमुख राईले बताए। लागूऔषध ओसारपसार र बिक्री वितरणमा संलग्नले प्रहरीको निगरानी छल्न विभिन्न उपाय अपनाउने गरेको उनले जानकारी दिए। कारोबारीले सवारीसाधनमा लागूऔषध लुकाउने, सवारीसाधनमा फल्स बटम बनाउने तथा शरीरका विभिन्न भागमा लुकाएर ओसारपसार गर्ने गरेको प्रहरीको भनाइ छ। लागूऔषधसम्बन्धी मुद्दाको संख्या अन्य कसुरको तुलनामा बढी देखिएपछि यसको नियन्त्रण र रोकथाम प्रहरीका लागि प्रमुख चुनौती बनेको छ।


