इटहरी स् मोरङको विराटनगरबाट प्रहरीले खैरो हेरोइन ९ब्राउन सुगर० सहित दुई युवकलाई पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–७ स्थित मातृका मार्गबाट बुधबार साँझ ३४ ग्राम ५६० मिलिग्राम खैरो हेरोइनसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार प्रदेश १–०२–०५१ प १९०१ नम्बरको मोटरसाइकलमा अडेस लागेर बसिरहेका विराटनगर महानगरपालिका–१७, रानीका १९ वर्षीय बासु मण्डलको साथबाट खैरो हेरोइन बरामद भएको थियो। उनीसँगै रहेका सोही स्थानका १८ वर्षीय आशुतोष साहलाई पनि प्रहरीले पक्राउ गरेको छ। लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


