इटहरी स् उदयपुरमा उत्पादित मासु स्थानीय बजारको माग पूरा गरेर अन्य जिल्लासमेत पुग्ने गरेको छ। जिल्लामा वार्षिक करिब आठ हजार मेट्रिकटन मासु उत्पादन हुने गरेकोमा तीन हजार मेट्रिकटनभन्दा बढी अन्य जिल्लामा बिक्री हुने गरेको छ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका अनुसार जिल्लामा उत्पादन हुने मासुमध्ये तीन हजार १२० मेट्रिकटन जिल्ला बाहिर निर्यात हुने गरेको छ। कुल उत्पादनको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको केन्द्रका प्रमुख शुक्रराज लिम्बूले जानकारी दिए। उनका अनुसार उदयपुरमा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको छ। स्थानीय माग धान्न कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने अवस्था रहेको उनले बताए। सुनसरीको बराहक्षेत्र आसपास र सप्तरीको सिसबारी क्षेत्रबाट कुखुरा आउने गरेको उनको भनाइ छ।

केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२र८३ मा उदयपुरमा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २२१ मेट्रिकटन बढी हो। आर्थिक वर्ष २०८१र८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो। त्यसअघि आर्थिक वर्ष २०८०र८१ मा सात हजार ६०७ मेट्रिकटन मासु उत्पादन भएको केन्द्रको तथ्याङ्क छ। उक्त वर्षको तुलनामा २०८१र८२ मा उत्पादन ३६ मेट्रिकटनले घटेको थियो। तर, पछिल्लो आर्थिक वर्षमा उत्पादन पुनः बढेको छ।

गत आर्थिक वर्षमा सबैभन्दा धेरै सुँगुर–बङ्गुरको मासु उत्पादन भएको छ। उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बङ्गुरको मासु उत्पादन भएको केन्द्रले जनाएको छ। त्यस्तै, खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो। यस अवधिमा हाँसको १० मेट्रिकटन र भेडाको १।५ मेट्रिकटन मासु उत्पादन भएको तथ्याङ्क छ।

केन्द्रका प्रमुख लिम्बूका अनुसार दसैँका बेला उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बङ्गुर अन्य जिल्लामा बढी बिक्री हुने गरेको छ। चाडपर्वबाहेकका समयमा पनि पशुपन्छी तथा मासुजन्य उत्पादन जिल्ला बाहिर पठाइने गरेको उनले बताए। स्थानीय उत्पादनले जिल्लाको माग पूरा गर्नुका साथै बाहिरी बजारमा समेत आपूर्ति गर्न थालेपछि उदयपुर पशुपन्छी तथा मासुजन्य उत्पादनको आपूर्तिकर्ताका रूपमा स्थापित हुँदै गएको छ।