इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदमा कोशी प्रदेश युवा महिला खुलातर्फ डा। योसिका भट्टराईले अग्रता कायम गरेकी छन्।
प्राप्त मत विवरणअनुसार, भट्टराईले १ हजार २३७ मत प्राप्त गरेकी छन्। उनलाई मिरा कटुवालले ६१५ मतसहित पछ्याइरहेकी छन् भने विराटनगरकी रक्षा यादव ५८७ मतसहित तेस्रो स्थानमा रहेकी छन्। अन्य उम्मेदवारमध्ये सुन्दरहरैँचाकी प्रमिला ढकालले २४० मत, झापाकी रुबी शितौलाले २०६ मत, झापा–५ की सरिता पौडेलले १८८ मत र पूर्णिमा देवले १५० मत प्राप्त गरेका छन्।
डा। भट्टराई विराट मेडिकल कलेज तथा विराट टिचिङ मेडिकल कलेजमा स्तन क्यान्सरसम्बन्धी शल्य चिकित्सकका रूपमा कार्यरत छिन्। उनी विगत पाँच वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। भट्टराई मोरङ क्षेत्र नम्बर २ बाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन्।
चिकित्सा पेसामा आबद्ध रहेर पनि राजनीतिमा सक्रिय उनी कांग्रेसको केन्द्रीय सदस्य पदमा युवा महिला समूहबाट प्रतिस्पर्धामा उत्रिएकी हुन्। ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ नारासहित उम्मेदवारी दिएकी भट्टराईले पार्टीभित्र युवा महिला नेतृत्वको प्रतिनिधित्व गर्दै आएकी छन्।


