इटहरी स् झापामा आइतबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच वर्षीया बालिका र ७३ वर्षीय वृद्धको मृत्यु भएको छ ।

कमल गाउँपालिका–५ टुकुरेमा आफ्नै बुवा डम्बर लिम्बूले चलाएको सिटी सफारीबाट लडेर चक्काले किच्दा उनकी पाँच वर्षीया छोरी लोजिना लिम्बूको मृत्यु भएको हो । दमकबाट पेल्टिमारीतर्फ जाँदै गर्दा साँझ करिब ५ः३० बजे लडेकी बालिकालाई आम्दा अस्पताल पुर्‍याइए पनि साँझ ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

त्यस्तै, दमक नगरपालिका–९ बुद्धचोकमा सुमोको ठक्करबाट पैदलयात्री ७३ वर्षीय माधवप्रसाद भट्टराईको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १–०१–०२५ च ४२०९ नम्बरको सुमोले ठक्कर दिँदा घाइते भएका भट्टराईको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न सुमो र चालक मोरङको उर्लाबारी नगरपालिका–९ का ३९ वर्षीय विष्णु न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँग लाइसेन्स फेला नपरेको र तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ ।