इटहरी। ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । भदौको तेस्रो सातादेखि सुरु भएको यस वर्षको पर्यटकीय याममा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को घुन्सास्थित पर्यटन जाँच चौकीका अनुसार यस याममा हालसम्म १७० जना विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्र पुगेका छन् । पर्यटन सहायक टासी तेन्जिङ शेर्पाका अनुसार सोमबारसम्म उनीहरू आधार शिविर पुगेका हुन् । केही पर्यटक भने घुन्सा क्षेत्रमा विश्राम गरिरहेका छन् । यसपटक फ्रान्स, अस्ट्रेलिया, जर्मनी र अमेरिकालगायत देशबाट पर्यटक आएका छन् । गत वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन बढेको पर्यटन व्यवसायी पेमा शेर्पाले बताउनुभयो । उहाँका अनुसार पर्यटकको आगमनले स्थानीय पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ ।
कञ्चनजङ्घा क्षेत्रमा चैतदेखि जेठसम्म र भदौदेखि मङ्सिरसम्म गरी वर्षमा दुई मुख्य पर्यटकीय याम हुन्छन् । दसैँतिहारका समयमा आन्तरिक पर्यटकको आगमनसमेत बढ्ने गरेको छ । होटल व्यवसायी सेराप शेर्पाका अनुसार चाडपर्वका बेला आन्तरिक पर्यटकको चाप बढ्दा घुन्सालगायत क्षेत्रका होटल तथा लज भरिने गरेका छन् । पर्यटकको आगमन बढेसँगै होटल, रेस्टुरेन्ट, पदयात्रा मार्गदर्शक, भरिया तथा यातायात व्यवसायमा समेत चहलपहल बढेको छ । पर्यटन व्यवसायी फुपुछोहाङ शेर्पाका अनुसार पर्यटकको आवागमनले पदयात्रा मार्गदर्शक, भरिया र यातायात व्यवसायीलाई आम्दानीको अवसर सिर्जना गरेको छ । विदेशी पर्यटक लामो समय पदयात्रामा रहने भएकाले स्थानीयस्तरमा आवास तथा जनशक्तिको माग बढ्ने गरेको छ ।
समुद्री सतहबाट आठ हजार ५८६ मिटर उचाइमा रहेको कञ्चनजङ्घा हिमालको उत्तरी र दक्षिणी आधार शिविरसम्म पदयात्रा गरेर पुग्न सकिन्छ । उत्तरी आधार शिविर ओक्ताङ र दक्षिणी आधार शिविर पाङपे पुग्न घुन्सा तथा याम्फुदिनतर्फका मार्ग प्रयोग गरिन्छ । हिमाली प्राकृतिक सौन्दर्य, जैविक विविधता र स्थानीय संस्कृति यस क्षेत्रका प्रमुख आकर्षण हुन् । यद्यपि, वर्षायाममा पहिरोका कारण पदमार्ग अवरुद्ध हुने र हिउँदमा हिमपातले यात्रा कठिन बनाउने गरेको घुन्साका होटल सञ्चालक कान्छा शेर्पाले बताउनुभयो । मौसमको अनिश्चिततासँगै सञ्चार सुविधा, सुरक्षित आवास, प्राथमिक उपचार र आपत्कालीन उद्धार सेवा विस्तार गर्नु पर्यटन क्षेत्रका चुनौती हुन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् र स्थानीय व्यवसायीले पर्यटन प्रवर्द्धन तथा पूर्वाधार सुधारका काम गर्दै आएका छन् । होमस्टे, पदमार्ग, स्थानीय उत्पादन र सांस्कृतिक गतिविधिको प्रवर्द्धन गर्न सके पर्यटनबाट स्थानीय समुदायको आम्दानी र रोजगारी थप बढ्ने अपेक्षा गरिएको छ ।


