इटहरी। जिल्ला प्रहरी कार्यालय इलामले ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा इलाम अस्पतालमा उपचाररत डायलाइसिस गराइरहेका बिरामीका लागि रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन्।

जिल्ला प्रहरी कार्यालय इलामले नेपाल रेडक्रस सोसाइटी र इलाम अस्पतालको समन्वयमा उक्त कार्यक्रम आयोजना गरेको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० कुलदीप चन्दका अनुसार यस वर्ष विपद्का कारण धेरै प्रहरी जवान बेपत्ता भएकाले प्रहरी दिवस भव्य रूपमा मनाउन नसकिएको हो।

दिवस भव्य रूपमा मनाउन नसके पनि बिरामीका लागि रक्तदान गर्न पाउँदा खुसी लागेको चन्दले बताए। प्रहरी दिवसको अवसरमा आगामी असोज २८ गते जिल्ला प्रहरी कार्यालय इलामको परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिनेछ। त्यस्तै, असोज ३० गते जिल्ला प्रहरी कार्यालय इलाममा औपचारिक रूपमा ७१औँ प्रहरी दिवस मनाउने कार्यक्रम रहेको छ। रक्तदान कार्यक्रमले डायलाइसिस गराइरहेका बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।