इटहरी। नेपालीहरूको महान चाड दसैँ पर्व सुरु भएसँगै गाउँघरमा रातो माटो, खाटो र कमेरोले घर रंगाउने र पोत्ने प्रचलन रहिआएको छ । तर, पछिल्लो केही समययता गाउँघरमा घर रंगाउने र पोत्ने प्रचलन हराउँदै गएको छ।

आधुनिक शैलीमा सिमेन्ट, कंक्रिटबाट निर्माण गरिएका घरहरूमा रङरोगन लगाउन थालेपछि घर पोत्ने प्रचलन हराउँदै गएको हो । दसैँ सुरु हुनुअगावै अथवा सुरु भएपश्चात् परापूर्वकालदेखि नै आ–आफ्ना घर सिंगार्ने, लिपपोत गर्ने काम सुरुमा गर्ने प्रचलन चलिआएको थियो । त्यसो त परम्परागत शैलीका ढुंगा, माटो तथा काठ प्रयोग गरी बनाइएको घरमा रंगरोहन र लिपपोत गर्ने चलन रहेको थियो । पछिल्लो समय गाउँघरमासमेत सिमेन्ट प्रयोग गरेर घर निर्माण हुन थालेपछि रातो माटो, कमेरोले रंगाउने चलन हराउँदै गएको पाइन्छ ।

केही वर्ष अघिसम्म दसैँअघि धनकुटामा घर रंगाउन चिम्ट्याइलो र रातो माटो भएका ठाउँमा गएर माटो लिएर आउने गरिन्थ्यो । पछिल्लो समय यस्ता माटोले लिपपोत गरेपछि चिटिक्क पारिएका घर सायद कम नै देखिन थालेका छन् । गाउँघरमा समेत सिमेन्टको प्रयोग बढ्न थालसँगै माटो, कमेरो र खोटोको विकल्पमा आधुनिक रङको प्रयोग बढेको धनकुटाका स्थानीय खेम घिमिरेले बताउनुभयो । सालको लोप्राबाट बनाइएको खोटो वर्षमा एकपटक झ्याल ढोकामा लगाएपछि धमिराले नखाने तथा धुल्याहा नलाग्ने, नमक्किने कथन रहेको उहाँको भनाइ छ ।

विगतमा घरमा रातो माटो, खोटो र कमेरोले लिपपोत गर्नु दसैँ तिहारसँगै जोडिएको संस्कृतिको अर्को पाटोजस्तै बनेको भए पनि आधुनिकतासँगै विगतका प्रचलन हराउँदै गएको उहाँले बताउनुभयो ।