इटहरी स्  झापाको कन्काईमा घरबाटै लागूऔषधको कारोबार गरिरहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका–३ सुरुङ्गाका ३५ वर्षीय फियाज मोमिन रहेका छन्। ‘बादशाह’ नामले चिनिने मोमिनलाई सोमबार राति करिब १० बजे आफ्नै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट वरिष्ठ प्रहरी नायब निरीक्षक रवि राईको नेतृत्वमा खटिएको टोलीले मोमिनको घरमा खोजतलास गरेको थियो। त्यसक्रममा प्लास्टिकसहित २५ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद ब्राउन सुगर १३९ वटा पोकामा राखिएको अवस्थामा थियो। लागूऔषधसँगै नाइट्रोजन नामक औषधिको ६ पत्ता अर्थात् ६० वटा ट्याब्लेट, १२ हजार रुपैयाँ नगद, डिजिटल तराजु एक थान र मोबाइल दुई थानसमेत बरामद भएको छ।

मोमिनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।