इटहरी स्  वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि विदेश जाने सोच बनाउने युवाका लागि भोजपुरको अरुण गाउँपालिका–७ ढुङ्गेका लक्ष्मीप्रसाद अधिकारी उदाहरण बनेका छन्। मलेसियामा करिब छ वर्ष बिताएर स्वदेश फर्किएका उनले गाउँमै व्यावसायिक बाख्रापालन गरेर वार्षिक करिब एक लाख ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।

विदेशमा कमाएको पुँजी, सिकेको सीप र प्राप्त अनुभवलाई आफ्नै गाउँमा उपयोग गर्ने उद्देश्यले अधिकारीले पाँच वर्षअघि बाख्रापालन सुरु गरेका हुन्। अहिले पशुपालन उनको आम्दानीको महत्त्वपूर्ण आधार बनेको छ। बाख्रापालनसँगै उनले फलफूल खेतीलाई पनि अघि बढाएका छन्। वैदेशिक रोजगारीमा लामो समय बिताएपछि पुनः विदेश जानेभन्दा आफ्नै गाउँमा उद्यम गर्ने बाटो रोजेका अधिकारी स्थानीय स्रोतसाधनको सदुपयोगबाट गाउँमै राम्रो आम्दानी गर्न सकिने बताउँछन्।

बाख्रापालनका लागि आवश्यक घाँस, चरन र अनुकूल वातावरण गाउँमै उपलब्ध भएकाले व्यवसाय सञ्चालन गर्न सहज भएको उनको भनाइ छ। कृषि तथा पशुपालनलाई मुख्य पेसाका रूपमा अघि बढाएका अधिकारीले बाख्रापालनबाट उत्पादन हुने गोठेमलको सदुपयोग गर्दै आँप, लिची र एभोकाडोलगायत फलफूलको खेतीसमेत गरिरहेका छन्। अरुण गाउँपालिका–७ सिक्रेटारले स्थानीय भूगोल र सम्भावनाअनुसार कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै आएको छ। वडाले व्यावसायिक कृषि तथा पशुपालनमा संलग्न किसानलाई आवश्यक तालिमका साथै औजार र उपकरणमा सहयोग गर्दै आएको वडाध्यक्ष कुमार थापाले बताए।

स्थानीयस्तरमै कृषि तथा पशुपालनको सम्भावना रहेकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई व्यावसायिक उत्पादनमा जोड्न सके गाउँको अर्थतन्त्रमा समेत योगदान पुग्ने स्थानीयको भनाइ छ। अधिकारीको प्रयासले विदेशबाट फर्किएका युवाले आफ्नै गाउँमा उपलब्ध स्रोतसाधन, सीप र अनुभवको उपयोग गरेर स्वरोजगार बन्न सक्ने सम्भावना देखाएको छ। पशुपालनसँगै फलफूल खेतीलाई जोडेर अघि बढेका उनले गाउँमै बसेर आम्दानीको आधार तयार गर्न सकिने सन्देश दिएका छन्।