इटहरी स्  विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले घटस्थापनाले समाजमा आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै समृद्धिको नयाँ आशा सञ्चार गर्ने विश्वास व्यक्त गरेका छन्।

बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा शुभकामना सन्देश जारी गर्दै कोइरालाले नवरात्रको पवित्र अवसरले सबैमा नयाँ आशा, उमङ्ग, उत्साह र सकारात्मक ऊर्जा प्रदान गर्ने बताएका हुन्। घटस्थापना धार्मिक अनुष्ठानमा मात्र सीमित नभई सत्य, शक्ति, आस्था र सदाचारको महत्त्वपूर्ण सन्देश दिने पर्व भएको उल्लेख गर्दै उनले यसले असत्यमाथि सत्य, अन्यायमाथि न्याय र निराशामाथि आशाको विजयको प्रेरणा दिने बताएका छन्।

नवरात्रले आत्मविश्वास, सहिष्णुता, करुणा र सत्कर्मप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्दै कोइरालाले चाडपर्वलाई सामाजिक एकता र आपसी सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध विराटनगर धार्मिक तथा सांस्कृतिक सहअस्तित्व र सामाजिक सद्भावको उदाहरण रहेको उनको भनाइ छ। महानगरका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सहरको मौलिक पहिचानलाई जीवन्त बनाएको उल्लेख गर्दै उनले विविधताभित्रको एकतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।

चाडपर्वले आपसी प्रेम, भाइचारा, सद्भाव र सहकार्य बढाउँदै समुन्नत, सभ्य तथा समावेशी विराटनगर निर्माणमा प्रेरित गर्नुपर्ने कोइरालाको सन्देशमा उल्लेख छ। धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण गर्दै साझा मूल्य र मान्यतालाई आत्मसात् गर्नु अहिलेको आवश्यकता रहेको उनले बताएका छन्। घटस्थापनाले प्रत्येक घरपरिवारमा सुख, शान्ति र खुसी ल्याउनुका साथै समाजमा सहिष्णुता र आपसी सद्भाव बढाउने तथा राष्ट्रमा सुशासन, समृद्धि र राष्ट्रिय एकताको भावना सुदृढ गर्ने विश्वाससमेत उनले व्यक्त गरेका छन्।

मेयर कोइरालाले घटस्थापनाको अवसरमा विराटनगरवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। उनले चाडपर्वलाई आपसी प्रेम, सम्मान र सहकार्यको अवसरका रूपमा मनाउँदै सांस्कृतिक परम्पराको संरक्षण र समुन्नत विराटनगर निर्माणको साझा संकल्पलाई बलियो बनाउनसमेत आह्वान गरेका छन्।