इटहरी । उत्तरी मोरङको लेटाङ–१ का किसानले परम्परागत खाद्यबाली हटाउँदै नगदे बाली विस्तार गरिरहेका छन् । लेटाङ–१, साग्माका चन्द्रबहादुर राई, कुवापानीका शुक्र राई र सन्दर राई, ठोक्रेका रोहित मास्के र आठबिसेका यमप्रसाद राईले विगत १० वर्षदेखि व्यावसायिक कफी खेती गरिरहनुभएको छ । चन्द्रबहादुर राईले विद्यालयमा शिक्षण गर्दागर्दै स्वैच्छिक अवकाश लिएर २०७२ सालमा कफी खेती विस्तार गर्नुभयो । त्यसबेला चन्द्र सरप्रति स्थानीय छिमेकी साथीभाइ कोही पनि सन्तुष्ट थिएनन् । भएको जागिर छोडेर धेरै कमाउन कफी खेतीमा हात हालेको आरोप लाग्यो ।
चन्द्रबहादुर राईले कफी खेती विस्तार गर्न छोड्नु भएन । राईले ५० रोपनीमा कफी रोप्नुभएको छ । वार्षिक तीन हजार पाँच सय केजी प्रशोधित कफी बजार पठाइरहेका राईले भन्नुभयो, “स्थानीय माग धान्न सकेका छैनौँ । प्रतिकेजी सरदर दुई हजार किलोमा बिक्री भए पनि अझै लगानी उठाउन सकेको छैन । अघिल्ला वर्षमा रोगले दुःख दियो । लक्ष्य अनुसार आम्दानी हुन सकेन । हाल नयाँ बिरुवाले राम्रो उत्पादन दिइरहेका छन् ।”
राईले १३ वर्षयता कफी खेतीमा डेढ करोड लगानी गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “तत्काल आम्दानी खोज्नेभन्दा पनि भविष्यसम्मका लागि दिगो आर्थिक स्रोत बनोस् भनेर लगानी गरेको हुँ ।” चन्द्र राईले कफी खेती विस्तार गरेपछि यतिबेला लेटाङ–१, भोगटेनीका दुई सयभन्दा बढी किसानले कफी खेती गर्न सुरु गरेका छन् । चन्द्र राईले भन्नुभयो, “गाउँमा अहिले वार्षिक तीन लाखदेखि ७० लाख रुपियाँसम्मको प्रशोधित कफी बिक्री गर्ने किसान छन् ।” आठबिसेका यमप्रसाद राई पनि सुरुमा मकैबारी फाँडेर कफी रोप्दा भात खान नपाइला कि भन्ने चिन्तामा हुनुहुन्थ्यो तर अहिले चिन्ता हटेको छ । नगरपालिकाले समेत किसानलाई प्राविधिक ज्ञानसँगै उपकरण र बिरुवा वितरण गर्दै आएको छ । वडा नं। १ का वडाध्यक्ष विष्णुकुमार मगरले वडामा २५० जना किसानले कफीको व्यावसायिक खेती गरिरहेको जानकारी दिनुभयो । हरेक वर्ष १० देखि १५ रोपनी क्षेत्रफलमा कफी खेती विस्तार भइरहेको वडाध्यक्ष मगरको भनाइ छ ।
कोशी प्रदेश सरकारको अनुदान तथा लेटाङ नगरपालिकाको वडा नं। १ कफी खेती विस्तार कार्यक्रममार्फत दुई हजार दुई सय कफीका बिरुवा यो वर्ष मात्र वितरण गरिएको वडाध्यक्ष मगरले बताउनुभयो । बिरुवासँगै सिँचाइ व्यवस्थापनलाई प्रभावकारी बनाउन ४९ हजार लिटर क्षमताका १७ वटा ट्याङ्की र १३ हजार मिटरभन्दा बढी पाइप किसानलाई वितरण गरिएको छ ।
नगरपालिकाको कृषि शाखा प्रमुख करण श्रेष्ठका अनुसार कोशी प्रदेश सरकारबाट सुन्तला तथा कफी खेती प्रवर्धनका लागि १२ लाख ५० हजार रुपियाँ अनुदान प्राप्त भएको थियो । वडाले एक लाख रुपियाँ थप गरी सोही बजेटबाट फलफूल तथा नगदे बाली विस्तारसँगै आवश्यक सिँचाइ पूर्वाधार व्यवस्थापन गरेको हो ।
लेटाङ नगरपालिकाका नगरप्रमुख भूपेन्द्रकुमार लावतीले कफी खेतीले अन्य बालीको तुलनामा छिटो र राम्रो आम्दानी दिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँका अनुसार वडा नं। १ मा २५० किसानले कफीको व्यावसायिक खेती गरिरहेका छन् । नगरप्रमुख लावतीले कफी खेतीले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै बसाइँसराइ नियन्त्रण गर्नसमेत सहयोग पुगेको बताउनुभयो


