इटहरी । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनले कोशी प्रदेशमा पहिलोपटक आयोजना गरेको ‘हिकभिजन एक्सपेरियन्स एक्स्पो २०२६’ समापन भएको छ ।
एक्स्पो विराटचोकस्थित नेपालिरिका होटलमा २ दिन सम्म आयोजना गरिएको थियो । कोशी प्रदेशमा पहिलोपटक आयोजना भएको एक्स्पोको व्यवस्थापन एल्प नाइन टेक्नोलोजीज विराटनगर, प्यारागन आईटी सोलुसन इटहरी, आरएस कम्प्युटर दमक र तेजस्वी कम्प्युटर सपोर्ट बिर्तामोडले गरेको थियो । हिकभिजन र म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिको संयुक्त आयोजनामा भएको एक्स्पोमा आर्टिफिसियल इन्टेलिजेन्स एआई सहित सुरक्षा प्रणालीका क्षेत्रमा प्रयोग भइरहेका नयाँ प्रविधि तथा हिकभिजनका नवीनतम उत्पादनहरू प्रदर्शनीमा राखिएको थियो ।
एक्स्पोले प्रविधि विकास र प्रवद्र्धनमा महत्त्वपूर्ण सहयोग पु¥याएको अवलोकनकर्ता एवम् इक्यान कोशी प्रदेशका संस्थापक अध्यक्ष कमल तिम्सिनाले बताउनुभयो। सोचेभन्दा बढी ग्राहकहरूको आगमनले एक्स्पो सफल भएको र डिजिटल युगमा यस्ता कार्यक्रमको महत्त्व उच्च रहने एक्स्पो व्यवस्थापक तथा प्यारागन आईटी सोलुसनका सञ्चालक सन्देश राईले बताउनुभयो। एक्स्पोमा घरेलु तथा साना व्यवसायका सुरक्षा प्रणाली, एकीकृत ट्राफिक व्यवस्थापन, व्यावसायिक अडियो व्यवस्थापन, प्रदर्शनी तथा शैक्षिक संस्था व्यवस्थापन सम्बन्धी प्रविधि, अग्रिम जानकारी दिने अलार्म सुरक्षा प्रणाली, ताररहित घर सुरक्षा प्रविधि तथा नवीनतम उत्पादनहरू प्रदर्शन गरिनेछ ।
एक्स्पोमा विभिन्न प्रविधि र उत्पादनलाई समेटेर ८ वटा स्टल राखिएको हिकभिजनको आधिकारिक वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले बताउनुभयो ।एक्स्पोले व्यवसायिक तथा घरेलु सुरक्षा प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ । पछिल्लो पुस्ताका सुरक्षा प्रविधि, एआईमा आधारित सुरक्षा प्रणाली तथा स्मार्ट प्रविधिबारे प्रत्यक्ष जानकारी लिन एक्स्पो महत्वपूर्ण अवसर बनेको छ ।


