इटहरी । नेपाल यू–२३ राष्ट्रिय टोलीका प्रतिभावान फुटबल खेलाडी इटहरी–२ शान्तिनगरका २४ वर्षीय आशिष राई यतिबेला थाइल्याण्डको अस्पतालमा जीवनको सबैभन्दा कठिन खेल खेलिरहेका छन्।
बाल्यकालमा परिवारको इच्छा विपरीत च्यातिएको जुत्ता टालेर मैदान छिरेका उनले आफ्नो मिहिनेत र समर्पणका बलमा संकटा, मनाङ मस्र्याङ्दी, एनआरटी र एनएसएल हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका थि। तर २०८० फागुन ३ गते राष्ट्रिय टोलीको मैत्रीपूर्ण खेलका क्रममा विपक्षी डिफेन्डरसँग ठोक्किएर गम्भीर घाइते भएपछि उनको खेल जीवनमा एकाएक पूर्णविराम लाग्यो ।
काठमाडौँ र चीनमा उपचार सम्भव नभएपछि हाल थाइल्याण्डमा खुट्टामा ‘मेटल प्लेट’ राखेर फिजियोथेरापी गराइरहेका उनी र उनको परिवार ऋणको भारी र आर्थिक संकटबीच एक्लै लडिरहेका छन्। एन्फाले प्राविधिक कारणले सहयोगमा ढिलाइ भएको दाबी गरे पनि ‘खेल जित्दा ताली बजाउने देशले घाइते हुँदा यसरी नै बिर्सिने हो ?’ भन्दै आमा सिर्जना राईले राज्य र सम्बन्धित निकायको दायित्वमाथि गम्भीर प्रश्न उठाउनुभएको छ ।
यद्यपि आफ्नो रगतमै फुटबल बगेको बताउने आशिष भने जस्तोसुकै कठिन परिस्थितिमा पनि हिम्मत नहारी निको भएर फेरि मैदान फर्किने दृढ संकल्पका साथ अस्पतालको बेडबाटै संघर्ष गरिरहेका छन्।


