इटहरी । इटहरी उपमहानगरपालिका–२ स्थित हुकट एन्ड कुक्ड फिसिङ पार्क एन्ड बीबीक्यूको आयोजनामा फिसिङ टुर्नामेन्ट प्रतियोगिता भएको छ।

पार्क सञ्चालनमा ल्याउने तयारीसँगै आयोजित प्रतियोगितामा झापा, मोरङ, सुनसरी सहित छिमेकी मुलुक चीनबाट समेत सहभागी आएका थिए। प्रतियोगिताका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–२ का वडाध्यक्ष माधव कोइराला रहनुभएको थियो। करिब ३० जना सहभागी रहेको प्रतियोगिता हेर्न सयौँ दर्शकको उपस्थिति रहेको आयोजकले जनाएको छ। तीन युवा व्यवसायी रोहित लिम्बु, जीवन राई र रोजन राईको संयुक्त पहलमा करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको फिसिङ पार्क सञ्चालनको तयारी भइरहेको छ। पार्कमा तीनवटा पोखरी निर्माण गरिएको छ भने परियोजनामा करिब २ करोड रुपैयाँसम्म लगानी गर्ने उद्देश्य रहेको सञ्चालकहरूले बताएका छन्।

पार्कमा विशेषगरी माछाका परिकारसँगै स्थानीय तथा मौलिक खानालाई प्राथमिकता दिने योजना रहेको छ। आफ्नै फार्ममा उत्पादन गरिएका अर्गानिक सामग्री, माछा, कुखुरा लगायतका परिकारलाई प्राथमिकता दिँदै आन्तरिक तथा बाह्य पर्यटकलाई फिसिङ सँगै पारिवारिक वातावरणमा खानपिनको सुविधा उपलब्ध गराउने सञ्चालकहरूको भनाइ छ । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई नगद १० हजार रुपैयाँ पुरस्कार  त्यस्तै, ‘फस्र्ट क्याच’ गर्ने खेलाडीलाई फिसिङ रड, ‘बिग क्याच’ गर्ने खेलाडीलाई फिसिङ रिल लगायत विभिन्न उपहार प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माधव कोइरालाले स्थानीय युवाहरूले आफ्नै क्षेत्रमा नयाँ व्यवसायको अवधारणा सहित पर्यटन र मनोरञ्जनलाई जोडेर गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादन र परिकारलाई प्राथमिकता दिँदै सञ्चालनमा आउने यस्ता व्यवसायले रोजगारी सिर्जना गर्नुका साथै इटहरीको पर्यटन प्रवद्र्धनमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो। सञ्चालकहरूले फिसिङ खेललाई मनोरञ्जन र पर्यटनसँग जोड्दै परिवार सहित समय बिताउन सकिने गन्तव्यका रूपमा पार्कलाई विकास गर्ने बताएका छन्।

पार्क पूर्ण रूपमा सञ्चालनमा आएपछि फिसिङका साथै स्थानीय परिकार र अर्गानिक उत्पादनको स्वाद लिन चाहने पर्यटकका लागि समेत आकर्षणको केन्द्र बनाउने उनीहरूको योजना छ । पार्क सञ्चालनअघि नै आयोजना गरिएको फिसिङ टुर्नामेन्टले सहभागी तथा दर्शकमा उत्साह थपेको थियो।