इटहरी । चैते सामुदायिक वन उपभोक्ता समूहको आम भेला आज लालिगुराँस नगरपालिका–१ स्थित भुल्के गुम्बा परिसरमा सम्पन्न भएको छ ।

भेलाले सामुदायिक वनसँग सम्बन्धित विभिन्न विषयमा छलफल गर्दै अर्गानिक मल र सिस्नो कारखाना उपभोक्ता मार्फत सञ्चालन गर्ने निर्णय गरेको छ । लालिगुराँस नगरपालिका–१ डोप्किले फिस्टेटारमा रहेको अर्गानिक मल कारखाना सञ्चालनको चरणमा रहेको छ । यस्तै, डाँडाखर्कमा सञ्चालन भइरहेको सिस्नो कारखानालाई उपभोक्ताले नै सञ्चालन गर्ने निर्णय आम भेलाले गरेको हो । वनबाट प्राप्त स्रोतलाई स्थानीय उत्पादन, रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले कारखानाको सञ्चालनलाई उपभोक्तामै केन्द्रित गर्ने निर्णय गरिएको जनाइएको छ ।

आम भेलामा प्रस्तावित केबलकार निर्माणको विषयमा समेत छलफल भएको थियो । देउरालीमाथिको सानटार देखि पाथिभरा क्षेत्रसम्म करिब १ हजार ७ सय मिटर लामो केबलकार निर्माण गर्ने योजना रहेको जनाइएको छ । उक्त क्षेत्र चैते सामुदायिक वन, कालिका सामुदायिक वन र पाथिभरा सामुदायिक वन गरी तीनवटा सामुदायिक वनको कार्यक्षेत्रमा पर्ने भएकाले केबलकार निर्माणका लागि चैते सामुदायिक वनले सहमति जनाएको समूहले जनाएको छ । यसैबीच, आम भेलामा सामुदायिक वनको आर्थिक अवस्था समेत सार्वजनिक गरिएको छ ।

चैते सामुदायिक वनले ४५ लाख ८३ हजार ८ सय रुपैयाँभन्दा बढीको आय–व्यय सार्वजनिक गरेको समूहका अध्यक्ष इन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । अध्यक्ष खड्काका अनुसार सामुदायिक वनको संरक्षणसँगै वन स्रोतको सदुपयोग, स्थानीय उत्पादनको प्रवद्र्धन, रोजगारी सिर्जना र उपभोक्ताको आर्थिक हितलाई प्राथमिकतामा राखेर आगामी गतिविधि अघि बढाइनेछ । चैते सामुदायिक वनको आम भेलाले वन संरक्षणलाई उत्पादन र आर्थिक समृद्धिसँग जोड्ने तथा स्थानीय पर्यटनको सम्भावनालाई समेत अघि बढाउने दिशामा महत्वपूर्ण निर्णय गरेको देखिएको छ ।