इटहरी। केही दिनअघिसम्म तनाव र अशान्तिको केन्द्र बनेको सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जले अहिले शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिन थालेको छ । घटनामा ज्यान गुमाएका व्यक्तिलाई नेपाल सरकारले सहिद घोषणा गर्नु, पीडित परिवारका माग सम्बोधन गर्न प्रक्रिया अघि बढाउनु र स्थानीय प्रशासनले शान्तिसुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएसँगै कप्तानगन्जमा अवस्था सामान्य बन्दै गएको हो ।
कप्तानगन्जमा भएको झडपका क्रममा निधन भएका देवानगन्ज–३ का रवीन्द्र मेहताको बुधबार हजारौँ सर्वसाधारणको उपस्थितिमा सम्मानसहित अन्तिम संस्कार गरिएको छ । सहिद रवीन्द्र मेहताको अन्तिम दाहसंस्कारमा विभिन्न राजनीतिक, सामाजिक, प्रशासनिक क्षेत्रका व्यक्ति सहभागी भएका थिए । नेपाल सरकार मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले रवीन्द्रलाई सहिद घोषणा गरेपछि उहाँको शव हेलिकोप्टरमार्फत बुधबार कप्तानगन्ज ल्याइएको थियो । शवलाई देवानगन्ज गाउँपालिकाका विभिन्न स्थान हुँदै शवयात्रासहित घटनास्थल देवानगन्ज–३, नयाँहाट कप्तानगन्जमा लगेर अन्तिम संस्कार गरिएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जानकारी दिनुभयो । रवीन्द्रको अन्तिम संस्कारअघि निकालिएको शवयात्रामा हजारौँ सर्वसाधारणको सहभागिता रहेको थियो । विभिन्न समुदायका नागरिकले शवयात्रामा सहभागिता जनाउँदै सहिदप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए । केही समयअघि तनावका कारण परिचित बनेको कप्तानगन्जमा ठुलो सङ्ख्यामा स्थानीय शान्तिपूर्ण रूपमा सहभागी भएको शवयात्राले अहिलेको बदलिँदो वातावरणको सकारात्मक सङ्केत दिएको गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताको भनाइ छ ।
सोही स्थानमा यसअघि घटनामा ज्यान गुमाएका सहिद ओमप्रकाश मेहता र जयप्रकाश मेहताको पनि अन्तिम संस्कार गरिएको थियो । लगातार भएका मृत्युका घटनाले स्थानीय समुदायमा गहिरो पीडा र क्षति पु¥याए पनि पछिल्लो समय सरकार, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, नागरिक समाज र समुदायका अगुवाको पहलमा अवस्था सामान्य बनाउने प्रयास तीव्र भएको छ । घटनापछि आन्दोलनरत पक्षले उठाएका माग सम्बोधन गर्न सरकारले अघि सारेका प्रतिबद्धताले पनि स्थानीयस्तरमा विश्वासको वातावरण निर्माण गर्न सहयोग पुगेको छ । मृतकलाई सहिद घोषणा गर्ने, मृतकका परिवारलाई राहत उपलब्ध गराउने, निष्पक्ष तथा प्रभावकारी छानबिन गर्ने, दोषी देखिएकालाई कानुन अनुसार कारबाही गर्ने, मृतक परिवारका एक सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउनेलगायतका विषयमा सरकारले प्रतिबद्धता जनाएको छ । सरकारका तर्फबाट भएका प्रतिबद्धता कार्यान्वयनको प्रक्रिया अघि बढेपछि आन्दोलनरत पक्षका माग क्रमशः सम्बोधन हुँदै गएको स्थानीय अगुवा रामेश्वर मेहताले बताउनुभयो । लामो समयसम्म तनाव कायम रहन सक्ने अवस्थालाई संवाद र सहमतितर्फ लैजानु महत्वपूर्ण बनेको उहाँको बुझाइ छ । हजारौँ स्थानीयले शान्तिपूर्ण रूपमा सहिद रवीन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिएको दृश्यले पनि यही सन्देश दिएको स्थानीय समाजसेवी रामविलास यादवले बताउनुभयो । घटनाको पीडा गहिरो छ तर त्यसलाई सामाजिक विभाजन होइन, शान्ति, न्याय र सद्भावमा रूपान्तरण गर्ने प्रयास पनि त्यत्तिकै बलियो रहेको उहाँको भनाइ छ ।
देवानगन्ज गाउँपालिका–६ का वडाध्यक्ष हरिनन्दन मेहताका अनुसार गृहमन्त्री सुधन गुरुङ, स्वास्थ्यमन्त्री निशा मेहता, प्रतिनिधि सभा सदस्य लालविक्रम थापा, दीपककुमार शाह, अशोक चौधरी तथा गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहता, सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहित जनप्रतिनिधि र सरोकारवालाको निरन्तर पहलले आन्दोलनरत पक्ष र पीडित परिवारका माग सम्बोधन भएको हो ।घटनापछि स्थानीयको मुख्य चासो अब दिगो शान्ति र भरपर्दो सुरक्षाव्यवस्था कायम गर्नु रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । स्थानीय प्रशासन र सुरक्षा निकायले कप्तानगन्जसहित देवानगन्ज क्षेत्रमा सुरक्षा उपस्थिति प्रभावकारी बनाउने तथा कुनै पनि प्रकारको हिंसा, उत्तेजना वा अप्रिय घटना दोहोरिन नदिने प्रतिबद्धता सबै सरोकारवाला पक्षले जनाएका छन् । विभिन्न धार्मिक तथा सामाजिक पक्षले शान्ति र सद्भाव कायम गर्ने प्रतिबद्धता यसअघि नै व्यक्त गरिसकेका छन् । गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले दुःखद घटनाबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र सहअस्तित्व कायम राख्न सबै पक्षसँग आग्रह गर्नुभयो । उहाँले अन्तिम संस्कारमा सहभागी भई सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने सम्पूर्ण स्थानीयवासीप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

