इटहरी । सरकारले माघ १ गतेभन्दा अगाडि इट्टा उत्पादन नगर्न दिएको निर्देशनप्रति कडा आपत्ति जनाउँदै एबि ब्रिक एण्ड टाइल इन्डस्ट्रिज प्रा। लि।, दुहबी(१० सुनसरीका प्रबन्ध निर्देशक भीम घिमिरेले सो निर्णय तत्काल पुनरावलोकन गरी खारेज गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसमक्ष निवेदन पेश गर्नुभएको छ।
मन्त्रालय, उद्योग विभाग र कोशी प्रदेश सरकारका निकायहरूबाट जारी निर्देशनले उद्योग सञ्चालन, लगानी, श्रमिकको रोजगारी, बैंकिङ कर्जा तथा निर्माण क्षेत्रमा गम्भीर असर पर्ने उहाँको भनाइ छ। मौसम, तापक्रम र माटोको अवस्थामा निर्भर रहने मौसमी प्रकृतिको उद्योगमा प्रशासनिक आदेशद्वारा कृत्रिम उत्पादन अवधि तोक्नु औद्योगिक सिद्धान्त, संविधानप्रदत्त व्यवसायिक स्वतन्त्रता, कानूनी शासन र लगानी संरक्षणको विपरीत हुने निवेदनमा उल्लेख छ।
वातावरणीय एवं कानूनी मापदण्ड पालना गर्न उद्योगीहरू सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै उहाँले उद्योगलाई प्रचलित कानूनबमोजिम निर्वाध उत्पादन तथा बिक्री(वितरण गर्न पाउने वातावरण सुनिश्चित गर्न माग गर्नुभएको छ।


