ताप्लेजुङ। ताप्लेजुङको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाइँले शान्ति सुरक्षामा नयाँ अनुभूति दिलाउने बताउनुभएको छ ।
जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारीमा आउनुभएका प्रनाउ बजगाइँले शान्ति सुरक्षा व्यवस्थापनमा अनुभूति हुनेगरी काम गर्ने बताउनुभएको हो । शुक्रबार बिहान स्थानीय पत्रकार तथा सञ्चारकर्मीसँग परिचयात्मक भेटघाट गर्दै प्रनाउ बजगाइँले शान्ति सुरक्षालाई बजबुत बनाउन आफूले प्रयास गर्ने बताउनुभयो । सरोकारवाला सबै पक्षको समन्वय र सहकार्यमा सुरक्षा निकायप्रतिको जिम्मेवारी र कर्तव्य बहन गर्नमा कमी हुन नदिने उहाँले बताउनुभयो । जिल्लामा शान्ति सुरक्षालाई असर गर्नेगरी लागुऔषध, मादक पदार्थ सेवन लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्नमा आफ्नो सक्रियता निरन्तर रहने उहाँले बताउनुभयो ।
यस्तै, ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न पहल गर्ने उहाँले बताउनुभयो । समग्र जिल्लाको सुरक्षा अवस्थालाई दृष्टिगत गरी आवश्यक सुरक्षा रणनीति बनाएर प्रहरी जनशक्ति परिचालन गर्ने उहाँको भनाइ छ । सर्वसाधारण नागरिकले शान्ति सुरक्षाको अनुभूति गर्न पाउने गरी प्रहरीको जिम्मेवारीलाई प्रभावकारी बनाउने उहाँले बताउनुभयो । मजबुत शान्ति सुरक्षा व्यवस्थापनका लागि सहयोग गर्न उहाँले जिल्लावासीलाई आग्रहसमेत गर्नुभयो । ताप्लेजुङको तत्कालीन प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक उमेश जोशी शान्ति मिसनमा सुडान जानुपर्ने भएपछि प्रनाउ बजगाइँ जिल्लाको प्रहरी नेतृत्व सम्हाल्न आउनुभएको छ । उहाँले बिहीबारदेखि नै जिल्लाको प्रहरी नेतृत्वको जिम्मेवारी बहन गर्न सुरु गर्नुभएको छ ।

