इटहरी। सुनसरी–मोरङका पाँच ग्यास उद्योगबाट सोमबार कोशी र मधेश प्रदेशका जिल्लासमेत गरी २६ हजार ३८९ थान सिलिन्डर ग्यास डिपोमा पठाइयो । कोशी ग्यास १३ हजार ३२० थान, मारुतीका पाँच हजार ५५४ थान, प्रिमा तीन हजार ८८२ थान, सुगम दुई हजार २५२ थान र रिजालको ग्यास एक हजार ३७० थान सिलिन्डर उपभोक्ताका लागि डिलरसम्म पठाइएको हो ।  नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरबाट प्रोडक्ट डेलिभरी अर्डर लिएर ग्यास आयात तथा भरण गरेर वितरण गर्दै आएका यी उद्योगबाट पछिल्लो पाँच दिनयता २२ हजारदेखि २६ हजारसम्म सिलिन्डर बजारमा पठाइएको छ । कोशी प्रदेश र मधेश प्रदेशमा पठाइएको सिलिन्डर गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १७ प्रतिशतले बढी हो ।  नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुष्कर कार्कीका अनुसार आव २०८२/८३ को साउन महिनाभन्दा चालु आवको साउन महिनामा १० हजारभन्दा बढी सिलिन्डर ग्यास प्रतिदिन बजारमा गइरहेको छ तर पनि उपभोक्ताको लाइन बजारमा उस्तै देखिइरहेको छ । गत आवको साउन महिनामा दैनिक १४ देखि १७ हजार सिलिन्डर ग्यास मात्रै सुनसरी–मोरङ औद्योगिक कोरिडोरका पाँच उद्योगबाट कोशी र मधेश प्रदेशका जिल्लामा पठाउने गरिएको थियो । चालु महिनामा २६ हजारभन्दा बढी ग्यास सिलिन्डर बजारमा पुगिसकेको कार्कीले जानकारी दिनुभयो । नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरले पछिल्लो पाँच दिनयता उद्योग, उद्योगले पठाउने डिलर, डिलरले पठाउने डिपो र सबडिपोसम्मको विवरण उल्लेख गरेर विवरण सार्वजनिक गर्दै आएको छ । सार्वजनिक विवरणमा ग्यास लोड भएका सवारीको नम्बर तथा चालकको नम्बरसमेत उल्लेख छ । त्यसबाहेक सबै उद्योगमा आपूर्ति भएको ग्यास, भण्डारण रहेको ग्यास, खाली सिलिन्डरदेखि बजारमा रहेका सिलिन्डरको सङ्ख्यासमेत दैनिक अद्यावधिक गर्दै आएको प्रमुख कार्कीले जानकारी दिनुभयो तर पनि बजारमा ग्यास अभाव भएको भन्दै डिपोमा उपभोक्ताको लाइन देखिनुले आश्चर्य पारिरहेको उहाँले बताउनुभयो । 

कार्कीले बजारमा ग्यासको आपूर्ति प्रणाली मजबुत रहे पनि अभाव देखिनुमा आवश्यकताभन्दा बढी भण्डारण भएको हुन सक्ने दाबी गर्नुभयो । पछिल्लो पाँच दिनमा मात्रै पाँच हजार सिलिन्डर ग्यास बजारमा थप गएको दाबी निगमको छ । ग्यास सहज रूपमा पाउनुपर्नेमा किन अभाव र झन्झट देखिरहेको छ भन्ने कुरालाई भने स्थानीय प्रशासनले निगरानीसमेत थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले बजारमा ग्यास प्रशस्त आइरहेको भए पनि उपभोक्ता लाइनमा उभिनु परेको अवस्थाबारे सूक्ष्म अध्ययन भइरहेको बताउनुहुन्छ । उहाँले आयल निगम र उद्योगको तथ्याङ्क अनुसार बजारमा सिलिन्डर आएर कहाँ कहाँ र कति गइरहेको छ भन्ने यकिन गर्नका लागि विशेष निगरानी भइरहेको बताउनुभयो ।