इटहरी। नेपालीहरूको महान चाड दसैँले पुर्वी नेपालको ग्रामीण क्षेत्रमा आर्थिक कारोबार बढाएको छ । दसैँमा मासुजन्य वस्तुको माग बढेसँगै गाउँघरमा उत्पादित खसी, बोकाको बिक्री बढेको छ । गाउँमा उत्पादित खसी, बोका सहरसम्म पुग्न थालेपछि गाउँको आर्थिक कारोबार बढेको बताइएको छ ।
धरान कृषि उपज बजारस्थलमा असोज महिनाको अन्त्यसम्म २५ करोड रुपियाँभन्दा बढीको खसीबोकाको कारोबार हुने अनुमान गरिएको बजारका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । उहाँका अनुसार दसैँलाई लक्षित गरी असोज महिनाभर करिब १० हजार खसीबोका बिक्री हुने उहाँ बताउनु हुन्छ । भट्टराईका अनुसार सुनसरीका ग्रामीण क्षेत्रका साथै भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खवासभा, उदयपुर, ताप्लेजुङ र पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसान तथा व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन । असोज मसान्त सम्म बजारमा खसीबोकाको किनबेच जारी रहने उहाँले बताउनुभयो ।
दसैँमा मासुको माग बढ्ने भएकाले खसीबोकाको कारोबारसमेत बढ्ने गरेको बताइएको छ । सुनसरीको सदरमुकाम इनरुवामा लाग्ने सोमबारे हाटमा पनि दसैँका बेला खसीबोकाको किनबेच बढ्ने गरेको छ । मासु खरिद गर्न इटहरी, विराटनगर लगायतका क्षेत्रबाट उपभोक्ता इनरुवा बजार पुग्ने गरेका छन । त्यस्तै, जिल्लाको प्रकाशपुरमा शनिबार लाग्ने हाट, वराहक्षेत्र नगरपालिकाको बाँगे बजार र चतरामा लाग्ने बजारमा समेत खसीबोकाको कारोबार हुने गरेको छ । गाउँघरमा पालिएका खसी, बोका, बिक्री गरेर किसानले चाडपर्वका बेला आम्दानी गर्दै आएका छन ।
दसैँका बेला गाउँमा मासुजन्य उत्पादित वस्तुको माग बढ्दा सहरको पैसा ग्रामीण क्षेत्रसम्म पुग्ने गरेको इटहरीका पत्रकार हिमाल दाहालले बताउनुभयो । चाडपर्वका बेला स्थानीय उत्पादनले बजार पाउँदा किसानको आम्दानी बढ्नुका साथै ग्रामीण क्षेत्रमा आर्थिक गतिविधिसमेत बढ्ने उहाँको भनाइ छ । दसैँमा अन्य महिनाको तुलनामा आर्थिक कारोबार बढी हुने गरेको छ । चाडपर्वका बेला स्थानीय उत्पादनको बिक्री बढ्दा ग्रामीण अर्थतन्त्र चलायमान बन्नुका साथै किसानको आयआर्जनमा समेत वृद्धि हुने बताइएको छ ।


