इटहरी। आर्थिक वर्ष २०८२र०८३ मा धनकुटामा निजी बनवाट ४० करोड रुपियाँ भन्दा बढीको काठ निकासी भएको छ । डिभिजन वन कार्यालय धनकुटाका अनुसार जिल्लाबाट कुल २४ लाख ८५ हजार क्युबिक फिट काठ निकासी भएको हो ।
विभिन्न जातको काठको न्यूनतम मूल्यको आधारमा ४० करोड भन्दा बढीको रहेको डिभिजन वन प्रमुख सञ्जीवराज ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार सो निकासीबाट मूल्य अभिवृद्धि करमार्फत नौ करोड राजस्व जम्मा भएको छ ।
त्यस्तै, कोशी प्रदेश सरकारलाई सेवा शुल्कवापत एक लाख राजस्व जम्मा गरिएको छ । अन्य विभिन्न शीर्षकमा गरी दश करोड भन्दा बढी राजस्व जम्मा भएको जनाइएको छ । धनकुटामा निजी वनवाट सबैभन्दा बढी उत्तिस निकासी हुने गरेको छ । उत्तिस बाहेक सेतो उत्तिस, मलेदो, सल्लो, चिलाउने लगायतका जातको काठ निकासी हुने गरेको छ । जिल्लाबाट गोलियाको रूपमा बढी निकासी हुने गरेको कार्यालयको भनाइ छ । जिल्लाबाट सबैभन्दा बढी गोलिया भेनियर उद्योगको लागि झापा, मोरङ, सुनसरी जिल्लामा निकासी हुने गरेको छ ।


