इटहरी । झापाको भद्रपुर नगरपालिका-४, मायालु वन क्षेत्रमा हात्तीबाट बाली जोगाउन लगाइएको विद्युतीय तारबार फेरि एक जनाको ज्यान लिने मुख्य कारण बनेको छ । हात्तीको त्रासबाट खेतबारी जोगाउने उद्देश्यले लगाइएका अवैध विद्युतीय तारहरू अहिले मानिसकै लागि घातक बन्दै गएका छन् । बुधबार बिहान करिब ९ बजे भद्रपुर–४ मायालु वन क्षेत्रमा ६५ वर्षीया ज्योती लिम्बू आफ्नै बारीमा हात्ती धपाउन जडान गरिएको नाङ्गो विद्युतीय तारमा छोएपछि करेन्ट लागेर ढल्नु भएको थियो। केही समयपछि बुहारी सविता खड्काले उहाँलाई लडिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान सुरु गरिएको छ । हात्तीबाट बालि जोगाउनका लागि लगाइएको तारमा कुल्चदा करेन्ट लागेर लिम्बुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । मानव–हात्ती द्वन्द्वका कारण सबैभन्दा प्रभावित जिल्ला झापामा प्रत्येक वर्ष हात्तीको आक्रमणबाट मानिस र वन्यजन्तु दुवैले ज्यान गुमाउने गरेका छन् । त्यसैको प्रतिकारस्वरूप कतिपय किसानले राति हात्ती धपाउन घरायसी विद्युत् सिधै नाङ्गो तारमा प्रवाह गर्ने गरेका छन् । यस्ता तारहरू कानुनी रूपमा निषेधित भए पनि ग्रामीण क्षेत्रमा अझै प्रयोग भइरहेको पाइन्छ ।
विशेषगरी भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा हात्ती नियमित रूपमा नेपाल प्रवेश गर्ने भएकाले किसानहरू वर्षेनी ठूलो क्षति व्यहोर्न बाध्य छन् । धान, मकै, केरा, उखु लगायतका बाली नष्ट भएपछि धेरैले कानुनविपरीत विद्युतीय तार प्रयोग गर्ने गरेका छन् र यसैमा परेर धेरैले ज्यान पनि गुमाएका छन् । वन तथा वन्यजन्तु संरक्षणसम्बन्धी कानुनले खुला रूपमा विद्युतीय करेन्ट प्रवाह हुने तारबार प्रयोग गर्न अनुमति दिँदैन । यस्तो कार्यले मानिस र वन्यजन्तु दुवैको ज्यान जोखिममा पार्ने भएकाले दण्डनीयसमेत मानिन्छ । तर, आफ्नो अन्नबाली जोगाउन हात्ती प्रभावित क्षेत्रका किसानहरुले यो उपाय अपनाउने गरेको पाइन्छ ।
हात्तीको त्रास, नागरिकको असुरक्षा
झापाको बाहुनडाँगीदेखि भद्रपुरसम्मको क्षेत्र नेपालकै सबैभन्दा बढी मानव–हात्ती द्वन्द्व हुने क्षेत्रका रूपमा चिनिन्छ । भारतको जङ्गलबाट आउने हात्तीका बथानले वर्षेनी बाली नष्ट गर्नुका साथै घर भत्काउने र मानव क्षति पुर्याउने गरेका छन् । यसले स्थानीयमा त्रास बढाएको छ । वन्यजन्तु संरक्षणकर्मी समेत रहनु भएका मेचीनगर नगरपालिका वडा ४ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार स्थानीयले जोखिम मोलेर घरवरपर समेत करेन्ट प्रवाह गर्दा मानवीय क्षति बढ्दो अवस्थामा छ । झापामा अहिले दिनहुँजसो भारतबाट बाहुण्डाँगीको हात्तीगौडा हुँदै हात्ती नेपाल प्रवेस गर्ने गरेका छन् । ४० भन्दा बढिको संख्यामा नेपालतर्फ हात्तीहरु आउने र कहिलेकाही हात्तीहरु आहाराको खोजीमा छुट्टिएर हिड्ने गरेका छन् । हात्ती अनुसन्धान गर्दा शंकर लुईटेलका अनुसार अहिले पनि झापामा ४ दर्जनभन्दा बढि हात्तीहरु झापाका विभिन्न पालिकाहरुमा खानाको खोजीमा छन् । हात्ती भगाउन सीमावर्ती क्षेत्रमा लगाईएको विद्यूतीय छेकबार । धेरै ठाँउमा यो चुडिइएर र भत्किएकाले किसानहरु आफै बालि संरक्षणमा आफ्नो खेचमा विद्युतीय धराप थाप्ने गर्छन्।


