इटहरी । सुनसरीको धरान–१४ स्थित विजयपुरगढी क्षेत्रमा रहेको किरात राई समुदायको सांस्कृतिक सामग्री ‘बाबु ९चिण्डो०’ को प्रतिमा तोडफोड भएपछि किरात समुदायका दुई संस्थाले आक्रोश व्यक्त गरेका छन् । किरात राई यायोक्खा र किरात इन्टरनेसनल कल्चरल क्याम्पेनले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन् ।
यायोक्खाले प्रतिमा तोडफोडलाई साम्प्रदायिक सद्भाव बिथोल्ने प्रयासको संज्ञा दिँदै घटनामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ। यस्ता गतिविधिले समाजमा हिंसा र द्वन्द्व निम्त्याउन सक्ने भएकाले सबै पक्षलाई संयम अपनाउन पनि आग्रह गरिएको छ। विज्ञप्तिमा विजयपुरगढी क्षेत्रमा किरात समुदायले लामो समयदेखि सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको, स्थानीय तहसँग भएका सहमतिका आधारमा संरचना निर्माण र संरक्षण हुँदै आएको उल्लेख गर्दै पछिल्लो घटना सहमतिविपरीत भएको दाबी गरिएको छ।
यायोक्खाले दोषीको संरक्षण नगरी पहिचान एवम् कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएको छ। आवश्यकता परे थप चरणका आन्दोलन घोषणा गर्न सकिने संकेत विज्ञप्तिमा गरिएको छ। उता, किरात इन्टरनेसनल कल्चरल क्याम्पेनले पनि उक्त घटनालाई संसारभर रहेका किरात राईहरूको आस्था र विश्वासमाथिको प्रहारको रूपमा व्याख्या गरेको छ। समाजमा अस्थिरता र अशान्ति मच्चाउने उद्देश्यले यस्तो कार्य भएको आरोप लगाउँदै दोषीलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।
संयोजक भद्रगोल किरातीद्वारा हस्ताक्षरित विज्ञप्तिमा समाजलाई धार्मिक तथा सांस्कृतिक आधारमा विभाजित गर्ने प्रयासप्रति सचेत रहन आग्रह गर्दै देश–विदेशका सरोकारवालालाई समेत घटनाबारे जानकारी गराइएको छ। धरानमा हिजो राति भएको प्रतिमा तोडफोडबारे प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। हालसम्म घटनामा संलग्नको औपचारिक पहिचान वा पक्राउबारे सुरक्षा निकायले कुनै सार्वजनिक जानकारी दिएको छैन।



