इटहरी । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पहिलोपटक भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगर आइपुगेको छ।

गत शुक्रबार कोलकाताबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो।पहिलो चरणमा आएको कार्गो रेलले मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको औद्योगिक कच्चा पदार्थ ल्याएको छ। यसअघि यस्ता सामान सडक मार्ग वा भारतको बथनाहासम्म मात्र रेलमार्फत ल्याइने गरिएको थियो। अब भने कोलकाताबाट सिधै नेपालको भन्सार बिन्दुसम्म रेलमार्फत सामान आइपुग्न थालेपछि पूर्वी नेपालका उद्योगी–व्यवसायीलाई ढुवानीमा समय र लागत दुवै बचत हुने अपेक्षा गरिएको छ। यसलाई नेपाल–भारतबीचको पारवहन व्यवस्थामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित विशेष समारोहमा गरिएको थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम लिमिटेड ९कोनकोर० का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई बिदाइ गरेका थिए। सोमबार विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, स्थानीय उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए। नियमित रूपमा सेवा सञ्चालनमा आएपछि पूर्वी नेपालका उद्योगका लागि आयात प्रक्रिया थप सहज हुने विश्वास गरिएको छ। विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल सञ्चालन गर्ने उद्देश्यले २०८० साल जेठमा परीक्षणका रूपमा रेल ल्याइएको भए पनि नीतिगत जटिलता र प्रक्रियागत समन्वय अभावका कारण सेवा नियमित हुन सकेको थिएन। पछिल्लो समय नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक नीतिगत सहमति र समन्वय भएपछि कोलकाताबाट विराटनगरसम्म कार्गो रेल सेवा नियमित सञ्चालनको बाटो खुलेको हो।