इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकाको सभाहलमा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत आयोजित वार्षिक समीक्षा गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ ।

गोष्ठीमा आर्थिक वर्षभरि सञ्चालन गरिएका उद्यम विकास, सीपमूलक तालिम, स्वरोजगार सिर्जना, उत्पादन प्रवद्र्धन तथा उद्यमी सशक्तीकरणका गतिविधिहरूको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो । कार्यक्रमबारे जानकारी दिँदै मेडपा कार्यक्रमका संयोजक छत्रबहादुर श्रेष्ठले वार्षिक समीक्षा गोष्ठीले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्नुका साथै आगामी कार्ययोजनालाई अझ प्रभावकारी बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको बताउनुभयो।

उहाँका अनुसार (मेडपा) कार्यक्रमले स्थानीय स्तरमा उद्यमशीलताको विकास, स्वरोजगार सिर्जना तथा गरिबी न्यूनीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । समीक्षा गोष्ठीबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा कार्यक्रमलाई अझ परिणाममुखी, दिगो र उद्यमीमैत्री ढंगले सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । गोष्ठीमा सहभागीहरूले स्थानीय स्रोत र सीपमा आधारित उद्यमको विकास, उत्पादनको बजारीकरण, वित्तीय पहुँच विस्तार तथा रोजगारी सिर्जना मार्फत स्थानीय अर्थतन्त्रलाई थप सुदृढ बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रमले उद्यमशीलता विकास र आर्थिक समृद्धितर्फ थप प्रभावकारी ढंगले अघि बढ्ने विश्वास व्यक्त गर्दै सम्पन्न भएको आयोजकले जनाएको छ ।