इटहरी। धनकुटाको जोरपाटी बजारमा सो क्षेत्रको पहिचान स्वरूप जोरपाटीको स्तम्भ निर्माण गरिएको छ ।
छथरजोरपाटी गाउँपालिकाको प्रशासनिक केन्द्रसमेत रहेको सो बजारमा करिब सात मिटर अग्लो स्तम्भ निर्माण गरी सोमाथि दुईवटा प्रतीकात्मक पाटी, ढाकर र भारी बोकिरहेका भरियाको प्रतिमा राखिएको छ । गाउँपालिकाको करिब १२ लाख रुपैयाँको लागतमा यसै आर्थिक वर्षमा सो स्तम्भ निर्माण गरिएको पालिकाले जनाएको छ ।
अघिल्लो वर्ष स्तम्भ निर्माण गरिएको र यस वर्ष जोरपाटी, ढाकर र भरियाको प्रतिमा राखिएको हो । सिँढीसहित निर्माण गरिएको सो स्तम्भमा माथि चढेर अवलोकन गर्न, फोटो, भिडियो खिच्न तथा दृश्यावलोकन गर्न सकिन्छ । कोसी राजमार्ग निर्माण नहुँदा धरानबाट भारी बोकेर भरियाहरू धनकुटाको उत्तर–पूर्वी तथा तेह्रथुमतर्फ आवतजावत गर्दा सोही स्थानमा रहेका दुईवटा पाटीमा आराम गर्ने भएकाले सो स्थानको नाम ुजोरपाटीु रहन गएको मानिन्छ । सोही आधारमा यो स्थानमा जोरपाटीको स्तम्भ निर्माण गरिएको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो । यसले यो स्थानको पहिचान जोगाउनुका साथै आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उहाँको भनाइ छ ।
पछिल्लो समय कोसी राजमार्गसहित धनकुटा र आसपासका जिल्लामा इतिहास, पहिचान र उत्पादनका आधारमा स्तम्भ निर्माण गर्ने प्रचलन बढ्दो छ । जोरपाटीको छिमेकी बजार हिलेमा तोङ्बा, सिधुवामा काउली, वसन्तपुरमा लालीगुराँस र लसुनेमा लसुनको स्तम्भ निर्माण गरिएको छ । त्यस्तै पाख्रिबासमा पाख्रीको बोटसहित पाख्रिपार्क निर्माण गरिएको छ । यता हात्तीखर्कमा हात्ती, भिरगाउँमा गाँजर र कागतेमा कागतीको स्तम्भ निर्माण गरिएको छ ।


