इटहरी। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डीएसपी० अनिषकुमार कर्णका अनुसार बिहीबार राति करिब साढे आठ बजे मे १ त ३५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक फिदिम नगरपालिका–३ स्कुलडाँडा निवासी २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी ट्याक्टरमा सवार फालेलुङ गाउँपालिका–१ ठाडे लसुने निवासी ४० वर्षीय, ‘युगे’ भनिने योगबहादुर जबेगु घाइते हुनुभएको छ। उहाँको अनुहारमा चोट लाग्नुका साथै दायाँ हात र बायाँ खुट्टा चल्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ। घाइते जबेगु बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ। अविरल वर्षाका कारण दुर्घटनास्थलमा तत्काल प्रहरी पुग्न कठिनाइ भएको थियो।