इटहरी । नेपाली चिया भारतीय बजारमा जान कडाइ भएसँगै बन्द भएका इलामका उद्योगलाई साथ दिँदै बिहीबारदेखि थप उद्योग बन्द भएका छन् ।
यसरी बन्द हुने उद्योगमा अर्गानिक प्रमाणीकरण भएर तेस्रो मुलुकमा चिया निर्यात गर्दै आएका उद्योग छन् । टी एलाइन्स अफ नेपालमा ९टान० आबद्ध इलाम, पाँचथर, कास्की र भोजपुरका समेत गरेर १६ उद्योग बन्द भएको टानका जीवन न्यौपानेले जानकारी दिनुभयो । इलाममा मात्र ७९ वटा चिया उद्योग बन्द भएका छन् । यस्तै बिहीबारदेखि झापाका ३० उद्योगसमेत बन्द भएका छन् । सरकारले चियाको सहज निकासी र वैदेशिक बजारको पहल नगरेसम्म उद्योग सञ्चालनमा नल्याउने चिया व्यवसायीले बताएका छन् । गत मे १ देखि २०२६ मा भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिड्युअर ९एसओपी० लागु गरेको थियो ।
यो नियम लागु भएपछि पूर्ण अर्गानिक प्रमाणित भएर तेस्रो मुलुक निर्यात भइरहेको चियामा भारतीय ल्याबमा दोष देखाउनु भने नेपाली चियालाई पूर्ण अवरोध गर्न खोजेको सङ्केत रहेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताउनुभयो । भारत मात्र नभएर पाकिस्तान, टर्कीलगायतका देशमा पनि नेपाली चियाको बजार राम्रो भए पनि उद्योगी आफैँले मात्र ती देशमा चिया पठाउन सक्ने अवस्था नरहेको अध्यक्ष पराजुलीको भनाइ छ ।
विश्वमै उत्कृष्ट घोषित भएको नेपाली चियालाई भारतले दोष लगाउनु भनेको अघोषित रूपको नाकाबन्दी नै भएको पराजुलीको दाबी छ । सरकारलाई चिया निकासीको सहज व्यवस्था गर्न आग्रह गर्दै इलामका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । उद्योगीले बिहीबार जिल्ला प्रशासन कार्यालय इलाममा भेला भएर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
ध्यानाकर्षणपत्रमा चिया निकासीको समस्या, त्यसबाट भएको आर्थिक क्षति, किसानको चिया नस्ट हुँदा किसानलाई परेको समस्यालगायतका विषय समेटिएको छ । चिया किसान र उद्योगीको ध्यानाकर्षण बुझ्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आफूले यसअघि पनि पटक पटक केन्द्रका मन्त्रालयमा जानकारी गराइसकेको र अब पनि आफू चियाका लागि गम्भीर रहेको बताउनुभयो ।

