मोरङ /  बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ।

आगामी २०८३ साल असार ५ गतेदेखि सञ्चालन हुने उक्त तालिम बुढीगंगा गाउँपालिका वडा नं. ६ मा आयोजना गरिने आयोजकले जनाएको छ। तालिममार्फत युवायुवती तथा स्थानीय नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप तथा व्यक्तित्व विकासमा टेवा पुग्ने विश्वास लिइएको छ।

कार्यक्रममा सहभागीहरूलाई उद्घोषण कला, प्रभावकारी प्रस्तुतीकरण, नेतृत्व विकास, समूह व्यवस्थापन, सञ्चार सीप तथा व्यक्तित्व विकाससम्बन्धी व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।

प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङका अनुसार तालिममा सहभागी हुन इच्छुक बुढीगंगा गाउँपालिकाका स्थायी बासिन्दाहरूले बुढीगंगा गाउँपालिका वडा नं. ६ को कार्यालयमा सम्पर्क गरी नाम दर्ता गर्न सक्नेछन्।

आयोजकले स्थानीय युवाहरूलाई अवसरको सदुपयोग गर्दै तालिममा सहभागी भई आफ्नो क्षमता अभिवृद्धि गर्न आग्रह गरेको छ। उक्त तालिमले दक्ष तथा नेतृत्वदायी जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।