इटहरी। भाडामा रहेर कार्यसम्पादन गर्दै आएको पाँचथरको फाल्गुनन्द गाउँपालिका अब सुविधासम्पन्न भवनमा प्रवेश गरेको छ ।
गाउँपालिकाले वडा नम्बर ५ फाक्तेपमा निर्माण गरिएको नयाँ प्रशासकीय भवनबाट सेवा सञ्चालन सुरु गरेको हो । गाउँपालिकाको केन्द्र कहाँ रहने भन्ने लामो विवादका कारण पालिकाले हालसम्म घुर्बिसे पञ्चमीस्थित विद्यालय भवनलाई अस्थायी कार्यालयका रूपमा प्रयोग गर्दै आएको थियो । केन्द्रको विवाद समाधान भएसँगै निर्माण प्रक्रिया अघि बढाइएको भवन डेढ वर्षको अवधिमा तयार भएपछि प्रशासन आफ्नै संरचनामा सरेको हो । नयाँ भवनमा शाखागत कार्यालयलाई अलग–अलग व्यवस्थापन गरिएको छ । न्यायिक समितिदेखि अध्यक्ष–उपाध्यक्षका कार्यकक्षसम्म एउटै परिसरभित्र राखिएपछि सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोका अनुसार केही फर्निचर तथा आन्तरिक सजावटको काम अझै बाँकी रहे पनि सेवा रोक्ने अवस्था नरहेकाले नयाँ भवनबाट नियमित काम सुरु गरिएको हो । आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रमसमेत यही भवनबाट सार्वजनिक गर्ने तयारी पालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले आफ्नै भवन सञ्चालनमा आउनु स्थानीय सरकारलाई थप व्यवस्थित र नागरिकमैत्री बनाउने आधार भएको बताउनुभयो । उहाँले क्रमशः आवश्यक पूर्वाधार थप्दै सेवा प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।
पाँचथरका अधिकांश स्थानीय तह आफ्नै प्रशासनिक भवनमा प्रवेश गरिसकेका बेला हिलिहाङ गाउँपालिका मात्रै निर्माण प्रक्रियामा रहेको छ । गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीका अनुसार चालू आर्थिक वर्षभित्रै भवन निर्माण पूरा गरी सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । कुम्मायक गाउँपालिकाले भने त्यहाँ निर्मित आवासीय भवनबाट सेवा दिइरहेको छ । यो पालिकाको कार्यालय भवन निर्माणार्थ स्थानीयले ९ रोपनी जग्गा उपलब्ध गराएको पालिका अध्यक्ष बमप्रसाद लावतीले जानकारी दिनुभयो ।


