इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ११ ले निर्वाचनताका जनता माझ गरेका प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै विकास निर्माणका कामलाई तीव्रता दिएको जनाएको छ ।
वडाले गाउँ–गाउँमा खानेपानी धारा विस्तारसँगै शिक्षा, स्वास्थ्य तथा विद्युत सेवाको पहुँच विस्तार गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ । वडा स्तरबाट विनियोजन गरिएको बजेट तथा बहुवर्षीय योजना मार्फत विभिन्न विकास निर्माणका काम भइरहेको वडा कार्यालयले जनाएको छ । खानेपानी विस्तार अभियान अन्तर्गत हाल करिब १० लाख बढि रुपैयाँ बराबरको पाइप जडान कार्य भइरहेको छ ।

स्टिमेट भन्दा बढी काम गरिएको वडा कार्यालयको दाबी छ । स्थानीयवासीहरूले वडा कार्यालयले सञ्चालन गरेका विकास निर्माणका कामप्रति खुशी व्यक्त गरेका छन्। खानेपानी लगायत आधारभूत सेवाको पहुँच विस्तार भएपछि दैनिक जीवन सहज बन्दै गएको उनीहरूको भनाइ छ। वडा सदस्य बेदुलाल विश्वासका अनुसार वडा स्तरिय बजेट अन्तर्गत विभिन्न योजनाहरू सञ्चालन भइरहेका छन्।

बहुवर्षीय योजनामा करिब २० लाख बजेट विनियोजन गरिएको तथा प्रदेश स्तरबाट समेत बजेट प्राप्त भएको उहाँले जानकारी दिनुभयो। वडा अध्यक्ष केशब कोइरालाले पाँच वर्षे कार्यकालमा जनता सामु गरेका बाचा पूरा गर्ने प्रतिबद्धता अनुसार काम भइरहेको बताउनुभयो। उहाँले विकास निर्माणसँगै आधारभूत सेवा सहज बनाउनेतर्फ वडा केन्द्रित रहेको उल्लेख गर्नुभयो।

वडा नम्बर ११ ले २०८१ सालदेखि गाउँ–गाउँमा खानेपानी पु¥याउने अभियान सुरु गरेको हो । वडाको विकासका लागि आवश्यक सडक, खानेपानी जस्ता आधारभूत पूर्वाधार निर्माणलाई विशेष महत्त्व दिएर वडा अगाडि बढिरहेको छ।


