इटहरी । द हिडन ट्रेजरले बहुप्रतिक्षित ‘मिस नेपाल २०२६’ प्रतियोगिताका लागि आवेदन खुला गरेको घोषणा गरेको छ ।
नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका १८ देखि २७ वर्ष उमेर समूहका र न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका इच्छुक नेपाली युवतीहरूले आगामी जेठ २५, २०८३ (जुन ८, २०२६) सम्म निःशुल्क आवेदन दिन सक्नेछन् । यस वर्षको भव्य ग्रान्ड फिनाले आगामी साउन २६ गते शनिबार (अगस्ट १, २०२६) काठमाडौँको पुल्चोकस्थित ’द प्लाजा’ मा आयोजना हुनेछ भने उक्त कार्यक्रमको हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
प्रतियोगिताका मुख्य विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्, जसअन्तर्गत ’मिस नेपाल इन्टरनेसनल २०२६’ ले टोकियोमा हुने मिस इन्टरनेसनलमा, ’मिस नेपाल अर्थ २०२६’ ले फिलिपिन्समा हुने मिस अर्थमा र ’मिस नेपाल कोस्मो २०२६’ ले भियतनाममा आयोजना हुने मिस कोस्मो प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्ड सहित आवेदन दिन सक्नेछन् ।
आवेदन निःशुल्क रहेको आयोजकले जनाएको डाइरेक्टर प्रमोद कंसकारले बताउनु भयो । यस वर्षको प्रतियोगिताबाट मिस नेपाल वल्र्ड, मिस नेपाल कस्मो र मिस नेपाल इन्टरनेसनल गरी तीन विधामा विजेताहरू चयन गरिनेछन् । द हिडन ट्रेजरले कन्जुरिया रमेश टाइल्स लिमिटेडलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह–प्रायोजकका रूपमा स्वागत गरेको जनाएको छ । आयोजकले प्रायोजक, साझेदार तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेको छ ।
यस वर्ष मिस नेपालको खोज विभिन्न शहरहरू विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा सञ्चालन गरिनेछ । साथै काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान पनि सञ्चालन हुने बताइएको छ । अन्तिम अडिसन जेठ २६, २०८३ (२०२६ जुन ०९) मा काठमाडौंमा हुनेछ ।


