इटहरी । मोरङको सुन्दरहरैंचा–१०, विराटचोकस्थित हिमालय इङ्ग्लिस स्कुल मा २०८३ सालको ग्राजुएसन सेरेमोनी, नयाँ विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल कमल खनाल का अनुसार कार्यक्रममा अध्ययनमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो। उहाँले विद्यालयले पाठ्यपुस्तकको शिक्षासँगै विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन, सिर्जनशीलता तथा नेतृत्व क्षमताको विकासमा समेत विशेष ध्यान दिँदै आएको बताउनुभयो।

साथै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकाल ले हिमालय इङ्ग्लिस स्कुलले शैक्षिक क्षेत्रमा पु¥याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई अनुशासित, नैतिकवान र जिम्मेवार नागरिकका रूपमा तयार पार्न विद्यालयको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै लक्ष्यप्रति दृढ भएर अघि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेसनल प्याब्सन मोरङ का उपाध्यक्ष पर्बत राई, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

विद्यालयले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।