इटहरी | भारतीय सेनाको गौरवशाली इतिहास बोकेको फाइभ/इलेभन गोर्खा राइफल्स(बोग्रा) भारतीय संघ सुनसरी जिल्ला कार्यसमितिले ७८ औँ स्थापना दिवस मनाएको छ।

इटहरीस्थित नेवा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुई सयभन्दा बढी सेवा निवृत्त पूर्व भारतीय सैनिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता फाइभ–इलेभन गोर्खा राइफल्स (बोग्रा) भारतीय भूतपूर्व संघ सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष कयाप्टेन संजीव राईले गर्नुभएको थियो भने प्रमुख अतिथि भारतीय भूतपूर्वका नायक आर्मि नम्बर ९४०४७४० विष्णुकुमार गुरुङ रहनुभएको थियो।

कार्यक्रमको उद्देश्य भारतीय सेनामा विभिन्न स्थानमा सेवा गरी हाल सेवा निवृत्त जीवन बिताइरहेका पूर्व सैनिकहरूबीच आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने, पुराना सम्झनाहरू साटासाट गर्ने तथा भावी पुस्तालाई प्रेरणादायी सन्देश दिनु रहेको अध्यक्ष संजीव राईले बताउनुभयो। साथै दुःख–सुखमा एकअर्कालाई सहयोग गर्ने भावनालाई मजबुत बनाउन पनि कार्यक्रम आयोजना गरिएको उहाँले उल्लेख गर्नुभयो।

कार्यक्रमका अवसरमा पत्रकारिता, एकल महिला, ज्येष्ठ नागरिक तथा उत्कृष्ट भूतपूर्व गोर्खा राइफल्सका गरी सात जनालाई खादा, माला र सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले संस्थाको इतिहास, योगदान तथा गौरवपूर्ण उपलब्धिहरूको चर्चा गर्दै गोर्खा राइफल्सले पुर्‍याएको योगदानको स्मरण गरेका थिए। साथै पूर्व सैनिकहरूबीच आपसी परिचय आदान–प्रदान गर्दै सैनिक जीवनका अनुभव र सम्झनाहरू पनि साझा गरिएको थियो।

सहभागीहरूले यस्ता कार्यक्रमहरूले सैनिक समुदायबीच एकता, सहकार्य तथा पारिवारिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा सामूहिक भोजनको व्यवस्था गरिएको थियो।

स्थापना दिवसका अवसरमा आयोजित उक्त कार्यक्रमले भेटघाट मात्र नभई भावनात्मक सम्बन्ध, एकताको सन्देश र गोर्खा सैनिकहरूको योगदानप्रतिको सम्मानलाई थप जीवन्त बनाएको सहभागीहरूले बताएका छन्।