इटहरी । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ ले आफ्ना वडा भित्रका ३ बर्षदेखी १५ बर्षसम्मका सम्पुर्ण बालबालिका र १९ बर्षसम्मका युवा खेलाडीहरुको दुर्घटना पछिकोे सम्भाव्य जोखिम कम गन दुर्घटना बीमा कार्यक्रम सुरुवात गरेको छ ।

बैशाख १५, १६ र १७ गतेसम्म संचालन भएको बिमा शिविरमा ६ सय ६७ जना बालबालिका तथा खेलाडीहरुको बिमा भएको वडा अध्यक्ष नवीन कार्कीले बताउनुभयो । पथरी शनिश्चरे नगरपालिकामा नै सरकारी तवरमा पहिलो पटक वडाभित्रका खेलाडी तथा सबै बालबालिकाको दुर्घटना बिमा वडा नम्बर ८ ले गरेको हो ।

मेट लाइफ अमेरीकन लाइफ इन्स्योरेन्स कम्पनी सगँको सहकार्यमा भएको बिमा कार्यक्रम अन्तर्गत एक बर्षभित्र    दुर्घटना भएमा, चोटपटक लागेमा, सर्पले डसेमा, कुकुर बिरालो जस्ता जनावरले टोके नङग्राएमा एक पटकमा एक लाख रुपैयाँसम्म बिमा दाबी गर्न सकिने कम्पनीले बताएको छ । 

बालबालिका तथा युवा खेलाडीहरुको दुर्घटना पछि उपचारको अभाव हुने जोखिम कम गर्न र अभिभावकलाई आर्थिक भारबाट जोगाउन बीमा कार्यक्रम ल्याएको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।