इटहरी । बराहक्षेत्र नगरपालिका वडा नं. ९ को आयोजना, आर्थिक सहयोग तथा न्यु स्टार टेक्निकल इन्स्टिच्युटको समन्वयमा सञ्चालित चार दिने निःशुल्क उद्घोषण तालिम सम्पन्न भएको छ ।

वडाभरिका ३० जना युवाहरूलाई सार्वजनिक रूपमा आफ्ना भावना व्यक्त गर्न सक्षम बनाउने र मञ्चको डर हटाउने उद्देश्यले आयोजित यस तालिममा सहभागीहरूलाई आवाजको उतारचढाव, शब्द चयन र श्रोताको मनोविज्ञान बुझेर कार्यक्रम सञ्चालन गर्ने सीप सिकाइएको थियो। समापन कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रमेश कार्कीले सहभागी विद्यार्थीहरूको उत्कृष्ट प्रस्तुतिबाट गौरवान्वित महसुस गरेको बताउँदै यस्ता कार्यक्रमले युवाको नेतृत्वदायी क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यवाहक वडा अध्यक्ष चतुरलाल चौधरीको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रशिक्षक चन्दा खड्कालाई उत्कृष्ट प्रशिक्षणका लागि सम्मान गरिएको थियो । तालिममा सहभागी भोजनी चौधरी लगायत अन्य सामाजिक अभियन्ताहरूले तालिमलाई अत्यन्तै प्रभावकारी र उपलब्धिमूलक भएको भन्दै सकारात्मक प्रतिक्रिया दिएका थिए ।

सहभागी इन्दिरा राउतले सञ्चालन गरेको सो कार्यक्रममा वडा सदस्य, वडा सचिव र बाल सहजकर्ताहरूको उपस्थिति रहेको थियो।  तालिममा बराहक्षेत्र–९ भरिका ३० जना युवाको सक्रिय सहभागिता रहेको थियो। निशुल्क उद्घोषण तालीममा सहभागि सबै लाई प्रमाणपत्र प्रदान गरिएको थियो ।