इटहरी । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राईल मन्सुरीले पदभार ग्रहण गरेको १ सय दिन पूरा भएको अवसरमा आफ्नो कार्यकालका महत्त्वपूर्ण प्रगति र उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।
मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच उहाँले जनमैत्री सेवा प्रवाह, कानूनी सुधार र कृषि क्षेत्रको व्यवसायीकरणमा केन्द्रित रहेर आफ्ना उपलब्धिहरू प्रस्तुत गर्नुभएको हो। मन्त्री मन्सुरीका अनुसार, उहाँको विशेष पहलमा समस्याग्रस्त सहकारीका २ सय ८७ जना साना बचतकर्तालाई तत्काल राहत स्वरूप बचत फिर्ता र ३१ जनाको ऋण मिलान गरी जम्मा ३१८ जना पीडितलाई न्याय प्रदान गरिएको छ भने आगामी दिनमा ५ लाख रुपैयाँसम्म बचत भएका थप ५२६ जनाको रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ ।
सहकारी सेवालाई थप सरल बनाउन प्रत्येक जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयहरूलाई ’उद्योग वाणिज्य तथा सहकारी कार्यालय’ मा परिमार्जन गरी सेवा प्रवाह गर्ने गरी प्रदेश सहकारी ऐन संशोधनको तयारी थालिएको छ । कृषि क्षेत्रमा नविनतम सोच भएका उद्यमीलाई प्रोत्साहन गर्न ’स्टार्टअप उद्यम बिउँपूजी परिचालन कार्यविधि’ स्वीकृत गरी आवेदन संकलन सुरु गरिएको छ भने कृषि अध्ययनरत विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि ’कृषि ईन्टर्न परिचालन कार्यक्रम २०८२’ कार्यान्वयनमा ल्याइएको छ ।
यसैगरी, ११ वटा जिल्लाका मातहतका कार्यालयहरूको अनुगमन गरी १४ वटा कृषि ज्ञान केन्द्रमा रहेका माटो प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्राविधिक जनशक्तिलाई तालिम प्रदान गरिएको छ। यी समग्र पहलहरूले कोशी प्रदेशको उत्पादन वृद्धि, रोजगारी सिर्जना र सुशासनमा दीर्घकालीन प्रभाव पार्ने मन्त्री मन्सुरीले विश्वास व्यक्त गर्नुभएको छ।


