इटहरी : भोजपुरमा बाँदरको बढ्दो उपद्रोका कारण किसानको वर्षभरको मेहनत जोखिममा परेको छ । मकैलगायत अन्नबाली पाक्ने समयमा खेतबारीमा बाँदरको झुन्ड पस्न थालेपछि किसानलाई बालीनाली जोगाउन मुस्किल भएको हो ।

विशेषगरी अहिले मकै पाक्ने समय भएकाले जिल्लाका विभिन्न क्षेत्रमा बाँदरको आतङ्क बढेको किसानले बताएका छन् । तल्लो भेग तथा वनजङ्गल आसपासका बस्तीमा बाँदरको उपद्रो बढी देखिएपछि किसानलाई अन्नबाली जोगाउन समस्या भएको हो । भोजपुरका नौवटै स्थानीय तहका अधिकांश भू–भागमा बाँदरको समस्या देखिएको छ । मकै पाक्ने समयमा खेतबारीमा बाँदरको हुल पस्ने र केही समयमै बालीनाली नष्ट गर्ने गरेको किसानको गुनासो छ । भोजपुर नगरपालिका–४ का स्थानीय कुमार राउतले बाँदर नियन्त्रणका लागि तत्कालीनसँगै दीर्घकालीन उपाय खोज्नुपर्ने बताए । बाँदरले मकैबालीसँगै तरकारी तथा बगैँचाका फलफूलमा समेत क्षति पुर्‍याउन थालेपछि किसान थप समस्यामा परेका छन् । बालीनाली जोगाउन किसानले खेतबारीमा स–साना टहरा बनाएर नियमित निगरानी गर्ने गरेका छन् । परिवारका दुईदेखि तीन जनासम्म दैनिक खेतबारीमा खटिएर बाँदर धपाउनुपर्ने अवस्था रहेको किसानको भनाइ छ । यसले खेतीपातीमा लाग्ने श्रम र लागतसमेत बढाएको उनीहरू बताउँछन् । डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले किसानको मागका आधारमा स्थानीय तह तथा किसानलाई बाँदर धपाउने यन्त्र वितरण गरिएको बताए ।

बाँदरको बढ्दो उपद्रोका कारण कतिपय स्थानीयले अन्नबाली जोगाउन नसकेर बस्ती नै छाड्नुपर्ने अवस्था आएको किसानले बताएका छन् । खेतीपातीमा निर्भर परिवारका लागि बाँदरको समस्या आर्थिकसँगै सामाजिक चुनौतीसमेत बन्दै गएको उनीहरूको भनाइ छ ।किसानले बाँदर नियन्त्रणका लागि स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन योजना बनाउन माग गरेका छन् । अन्नबाली तथा फलफूलमा हुने क्षति न्यूनीकरण गर्दै किसानको जीविकोपार्जन सुरक्षित गर्न राज्यले समस्या समाधानमा गम्भीर बन्नुपर्ने उनीहरूको भनाइ छ ।