इटहरी। इलामको माईखोलामा झोलुङ्गे पुल निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन्। इलाम नगरपालिका–८ र १० जोड्ने काइलाटारमा उक्त पुल निर्माण गर्न ८४ लाख ७१ हजार ४६० रुपैयाँ खर्च भएको छ।

आर्थिक वर्ष २०८२/०८३ मा कोशी प्रदेश सरकारको लगानीमा १७९ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज बनेको छ। तिल्केनी-सिलपुर सडकअन्तर्गत पर्ने काइलाटारमा पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहजता मिलेको पूर्वाधार विकास कार्यालय इलामका प्रमुख रञ्जय सिंहले जानकारी दिए। पुल निर्माण भएसँगै राजदुवाली र सिमलगोलाईको बाटो घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीयले बताएका छन्। हिउँदयाममा खोला तरेर वारिपारि गर्न सहज भए पनि वर्षायाममा भने राजदुवाली वा सिमलगोलाईको बाटो घण्टौँ घुम्नुपर्ने बाध्यता रहेको इलाम नगरपालिका–८ का सन्तोष गोलेको भनाइ छ। अब त्यो समस्याबाट मुक्ति मिलेको उनले बताए। झोलुङ्गे पुल बनेपछि त्यस क्षेत्रमा घुमघाम गर्न, टिकटक बनाउन र तस्बिर खिचाउन आउने मानिसको सङ्ख्यासमेत बढ्न थालेको गोलेले जानकारी दिए।

 मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि मोटरसाइकलमार्फत इलामतर्फबाट झापा जान र झापाबाट इलामतर्फ आउन सोही पुल प्रयोग हुन थालेको छ। इलाम-राजदुवाली सडक बन्द रहेकाले सदरमुकामबाट मेची राजमार्ग जोड्ने सबैभन्दा छोटो दूरीको बाटो यही बनेको इलाम नगरपालिका–८ का वडाध्यक्ष दलमान तामाङले बताए। तिल्केनी-सिमलगोलाईको बाटो लामो भएकाले दुईपाङ्ग्रे सवारीसाधनका लागि यो सडक उपयुक्त वैकल्पिक मार्ग बनेको उनको भनाइ छ।अहिले यस बाटो भएर दैनिक सयौँको सङ्ख्यामा मोटरसाइकल गुड्ने गरेका छन्। उक्त सडक मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–८ तिल्केनीबाट छुट्टिएर इलाम नगरपालिका–१० गोदकस्थित सिलपुरमा जोडिन्छ।