इटहरी । सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाउनुभएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ९साम्पाङ० संघीय संसद्मा पुग्नुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उहाँको राजनीतिक यात्रा स्थानीय मुद्दाबाट राष्ट्रिय राजनीतिसम्म विस्तार भएको हो ।
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा राई धरान उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो । उक्त निर्वाचनसँगै धरानले पहिलो पटक स्वतन्त्र नगर प्रमुख पाएको थियो । नगर प्रमुखको जिम्मेवारी सम्हालेपछि उहाँले श्रमदानलाई पुनर्जीवित गर्दै विभिन्न जनअभियान सञ्चालन गर्नुभएको थियो ।राईकै पहलमा धरान–२० स्थित कोकाहा खोलाबाट खानेपानी ल्याउने अभियान सञ्चालन गरिएको थियो । सो अभियानअन्तर्गत ९८ दिनसम्म निरन्तर श्रमदान गरी धरानमा पानी ल्याउन सफल भएको घटनालाई स्थानीय तहमा उल्लेखनीय अभियानका रूपमा लिइन्छ ।
गत भदौ २२ र २३ गते भएको ुजेनजीु आन्दोलनपश्चात् देशको राजनीतिक परिदृश्यले नयाँ मोड लिएको अवस्थामा राईले गत कात्तिकमा श्रम संस्कृति पार्टी स्थापना गर्नुभएको थियो । पार्टी स्थापना गर्दै उहाँ अध्यक्षको भूमिकामा आउनुभयो । युवाहरूको आन्दोलनले राजनीतिक सुधारको आवश्यकता उजागर गरेको भन्दै त्यसकै प्रतीकका रूपमा आफ्नो पार्टी उदाएको उहाँको भनाइ छ ।प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन उहाँले धरान नगर प्रमुख पदबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँ सुनसरी–१ बाट श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार बन्नुभयो । उहाँको पार्टीको राजनीतिक विचारधारा ुहर्कवादु रहेको छ, जुन श्रम संस्कृतिमा केन्द्रित छ । यसले आत्मनिर्भरता, श्रमको मर्यादा र वैदेशिक परनिर्भरताको अन्त्यको वकालत गर्दछ ।
निर्वाचन परिणामअनुसार उहाँ ३५ हजार ७ सय ४१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की उम्मेदवार गोमा तामाङ ९सरिन० ले २७ हजार २ सय ४९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार राई ८ हजार ४ सय ९२ मतान्तरले विजयी हुनुभएको हो । श्रम संस्कृति पार्टी स्थापना भएको चार महिनामै प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ तीन सिट र समानुपातिक निर्वाचन प्रणालीमा आवश्यक ुथ्रेसहोल्डु पार गरेपछि राष्ट्रिय पार्टी बन्न सफल भएको छ । सुनसरी–१ बाट पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई, भोजपुरबाट युवराज राई र खोटाङबाट ओरेन राई विजयी भएसँगै पार्टीले कोशी प्रदेशमा मात्र प्रत्यक्षतर्फ ३ सिट प्राप्त गरेको हो ।
निर्वाचनमा विजयी भएपछि राईले लोकतन्त्रमा कोही पनि नहार्ने बताउँदै सबै मतदाता र उम्मेदवारप्रति आभार व्यक्त गर्नुभयो ।निर्वाचनपछि आयोजित धन्यवाद र्यालीमा राईले परम्परागत खादा, माला र सम्मानको सट्टा सुझाव दिन मतदातासँग आग्रह गर्नुभयो । उहाँ सुझाव पेटिका बोकेर र्यालीमा सहभागी हुनुभएको थियो । मतदातालाई खादा, माला वा टोपीको सट्टा सुझाव दिन आग्रह गर्दै त्यसैका आधारमा काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । राईले आफ्ना समर्थकलाई व्यक्तिप्रति होइन, विचारप्रति जोडिन आग्रह गर्नुभएको छ ।
चुनावअघि नै दार्चुलामा तुइनको सट्टामा झोलुङ्गे पुल निर्माण गर्ने आफ्नो सामाजिक सञ्जालमा लेख्दै आउनुभएकोमा उहाँ निर्वाचित भएलगत्तै १० रुपैयाँदेखि माथि जति पनि सहयोग गर्न सक्ने सबैलाई आग्रह गर्नुभयो । ूदार्चुलामा पुलका लागि भौगोलिक, प्राविधिक स्थितिका लागि मानिस पठाइसकेको छु, सबै काम भएपछि श्रमदाताहरूको सहयोगमा काम सुरु गर्नेछौँ,ू उहाँले बताउनुभयो । त्यहाँ बाटो राम्रो नभएकाले मेसिनरी सामानको अभाव हुने हुँदा गिटी कुट्ने, जग खन्ने लगायतका काम बेल्चा, गैँती, खन्ती लगायतका औजारबाट श्रमदाताहरूले नै गर्नुपर्ने उहाँको भनाइ छ ।
नगर प्रमुखको पद मुख्यतः कार्यान्वयन गर्ने ठाउँ हो भने संसद् जनताको आवाज उठाउने स्थान हो । त्यसैले किसान, मजदुर, पिछडिएका वर्ग र दलित समुदाय लगायतका मुद्दा संसद्मा जोडदार रूपमा उठाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । राई लाहुरे परिवारमा जन्मनुभएको हो । उहाँका पिता तिलकविक्रम राई र माता जयमाया राई हुनुहुन्छ । राईले खोटाङको कोपिलासगढी गाउँपालिका–खाताम्छामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । प्रवेशिका उत्तीर्ण गरेपछि उहाँ २०५६ सालतिर धरान झर्नुभएको हो । धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्र विषयमा स्नातक तहसम्म अध्ययन गर्नुभएको छ ।
२०७२ सालमा धरान–१० स्थित धनकुटे रोड हुँदै चतरातर्फ सडक विस्तारका क्रममा स्थानीयवासी विस्थापित हुनुपर्ने अवस्था आएपछि राईले पीडितहरूसँग मिलेर आन्दोलन सञ्चालन गर्नुभएको थियो । सोही आन्दोलनपछि उहाँ सामाजिक अभियन्ताका रूपमा चिनिन थाल्नुभएको हो । श्रमदान अभियान र जनसहभागितामूलक विकासका कार्यहरू नै यस दलको स्थापनाको मुख्य प्रेरणा बनेको छ । पार्टीले ुजय माटो, जय श्रमदानु को नाराका साथ निर्वाचनमा भाग लिएको थियो । यसको अभियान अन्य दलको तुलनामा फरक र श्रमदानमा आधारित रहेको छ ।
खानेपानी, सरसफाइ, सडक सुधार तथा स्थानीय विकासका मुद्दामा सक्रिय रहँदै उहाँले श्रम संस्कृति पार्टी स्थापना गरी औपचारिक रूपमा दलगत राजनीतिमा प्रवेश गर्नुभयो । राजनीतिक दल र नेतृत्वप्रति प्रश्न उठाउने उहाँको शैलीका कारण पनि उहाँ चर्चामा रहनुभयो । सार्वजनिक स्थानमै उभिएर उहाँले पटक–पटक दलको सिद्धान्त, नेतृत्वको उत्तरदायित्व र जनप्रतिनिधिको भूमिकामाथि प्रश्न उठाउँदै आउनुभएको थियो ।
यसरी सामाजिक अभियान, सडक आन्दोलन, स्वतन्त्र नगर प्रमुख हुँदै संघीय संसद् सम्म पुग्नुभएका राईको राजनीतिक यात्रा अहिले राष्ट्रिय राजनीतिको चर्चाको विषय बनेको छ । सडकमा प्रश्न उठाउनेदेखि सुरु भएको यात्रा अब संसद्मा नीति बनाउने आवाजसम्म पुगेको छ ।


